राज्यमन्त्रीबाट हटाइएका चौधरी एमालेको भेलामा
धनगढी: पदबाट हटाइएका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी नेकपा एमालेको भेलामा सहभागी भएका छन्।
बुधबार नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले महेन्दनगरमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा चौधरी सहभागी भएका हुन्। एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका उनलाई पदबाट आज मात्रै हटाइएको हो। चौधरी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन्।
कञ्चनपुरमा आयोजना भएको भेलामा प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, नेता वीरबहादुर बुढाथोकी एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ। यस्तै माओवादीबाट पनि ठूलो संख्यामा आज एमाले प्रवेश गर्ने जनाइएको छ। उनीहरुलाई पार्टीमा प्रवेश गराउनकै लागि ओली आज महेन्द्रनगर पुगेका हुन्।