दिदीबहिनीको दीर्घायुका लागि व्रत बसेर मनाइँदै अटवारी
धनगढीः पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायले आइतबार ‘अटवारी’ पर्व उल्लासपूर्वक मनाएका छन्। कैलाली–कञ्चनपुरसहित पश्चिम तराईका बाँके, बर्दिया र दाङमा बसोबास गर्ने थारु समुदायले आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रूपमा ‘अटवारी’ मनाएका हुन्।
थारु समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा यो पर्व आइतबार प्रारम्भ भइ सोमबारसम्म मनाइने प्रचलन छ। हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन अटवारी प्रारम्भ हुन्छ। यो पर्वपछि उक्त समुदायमा लोक संस्कृतिसँग सम्बन्धित नाँचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ हुने गरेको धनगढीको थारु समुदायका स्थानीय अर्नुन महतोले बताए। ‘यो पहिलेदेखि मनाउने गरेको पर्व हो। यसमा भिवाँको पूजा गरिन्छ। हामीले उल्लासपूर्वक मनाउदैँ छौं,’ उनले भने।
थारु समुदायले ‘अट्वारी पर्वलाई विशेष महत्त्वका साथ मनाइने गरेका छन्। भाद्र शुक्ल पक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बस्ने गरेका छन्।
व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफुल अग्नि देवतालाई अढाइ दिदीबहिनीलाई केही भाग छुट्ट्याई बाँकी भाग व्रतालुले खाने चलन छ। यसरी नै थारु बाहुल्य क्षेत्रमा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाइँएको धनगढीका स्थानीय मंगलसिंह चौधरीले बताए। ‘पुरुषहरु पानी पनि नखाइँ व्रत बस्छौ। आजको दिन नुन पनि खादैनौ। चेलिबेटीलाई कोसेली दिएर सकिन्छ,’ उनले भने।
अटवारी पर्वको धार्मीक महत्त्व पनि रहेको छ। अट्वारी पर्व बल, शक्ति, न्याय र सहयोग तथा सद्धभावको पर्व हो। यस अवसरमा आगो, पानी तथा भिवाँको पूजा गरिन्छ।
भिवाँ प्रतिको समर्पण र दिदीबहिनीहरूको माया स्वरूप यो पर्व अत्यन्त सौहार्द तरिकाले मनाइने गरिन्छ। अट्वारीलाई बर्का अट्वारी पनि भन्ने गरिन्छ। अट्वारीमा विशेष गरेर आगो र भिवाँको पूजा गरिन्छ।
यो पर्व खास गरेर पुरुषले मनाउने चलन रहेता पनि महिलाहरू पनि व्रत बसेर अट्वारी मनाउने गर्दछन्। तर, थारु समुदायले महत्त्वका साथ बनाउने पर्वलाई सरकारले उपेक्षा गरेर एक दिन मात्रै बिदा दिएको गुनासो गरिएको छ।