९ सेकेन्डमै यसरी ढले दिल्ली नजिकैका ट्विन टावर
काठमाडौंः भारतको राजधानी दिल्ली नजिकै नोयडामा बनेका विवादास्पद ट्विन टावर्स आज आइतबार भत्काइएको छ। करीब ३७ सय किलोग्राम बारूदले दुबै टावर ध्वस्त बनाएको हो।
‘एपेक्स’ र ‘केएन’ नामक टावर ३० तले थिए। दुबै टावरको उचाइँ ३२० फिट थियो। टावर गिराउँदा वरपरका घर खाली गराइएको थियो भने सडक पनि बन्द गरिएको थियो। अवैध रुपमा बनेको पुष्टि भएपछि अदालतको आदेशमा दुबै टावर ध्वस्त बनाइएको हो। ट्विन टावर रहेको क्षेत्रमा अब पर्यावरण संरक्षण गर्ने उदेश्यले सडक, फुटपाथ, पार्क लगायतका संरचना बनाइने बताइएको छ। भग्नावषेश हटाउन २०० कर्मचारी खटिएका छन्।