टीकापुर घटनाको अदालतमा बहस जारी, बुधबार सम्म फैसला हुने सम्भावना
टीकापुर हत्याकाण्डको आरोपमा पक्राउ परेकाहरुको विषयमा अदालतमा बहस जारी छ। टीकापुरमा भएको हत्यामा संग्लन भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेकाहरुको विषयमा वादी र प्रतिवादी पक्षले वहस गरिरहेका हुन्। गत बुधबारदेखि घटनाको वारेमा बहस भईरहेको छ। कैलाली जिल्ला अदालतमा घटना बारे वादी र प्रतिवादी पक्षहरुले बहस गरिरहेका छन्। २०७२ भदौ ७ गते भएको टिकापुर घटनाको ४२ महिना ८ दिनपछि गत बुधवारदेखि तोकिएको पेसी अन्र्तगत बहस जारी रहेको हो। जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासमा सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच बहस चलिरहेको हो। गत बुधवार भएको बहसमा वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम उपाध्याय, मिलन राई र गजेन्द्र केसीले बहस गरेका थिए। बिहीबार सार्वजनिक विदा भएकाले बहस भएन। शुक्रबार भएको बहसमा प्रतिवादी तर्फबाट अधिवक्ता नाथुराम महतो, मिलन राई, दिनमणी पोखरेलले बहस गरेका प्रतिवादीको तर्फबाट बहस गरेका कानुन व्यवसायी गजेन्द्र केसीले बताए।
आईतबार पनि बहसलाई निरन्तरता दिइएको छ। आईतबारबाट ५ जना कानुन व्यवसायीहरुले बहस गरेका छन्। प्रतिपक्षको तर्फबाट उनीहरुले बहस गरेका हुन। ५८ जना प्रतिवादी रहेकाले पनि बहसको समय लम्बिएको कानुन व्यवसायी बताउँछन्। प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीको संख्या पनि धेरै रहेको छ। उनीहरुले पालै–पालो बहस गरिरहेका छन्। मंगलबारसम्म बहस जारी हुने कैलाली अदालतले बताएको छ। मंगलबार सम्म बहसको प्रक्रियामा पुरा भए मंगलबार वा बुधबारसम्म टिकापुर घटनाको फैसला हुने सम्भावना रहेको कैलाली जिल्ला अदालतका सूचना अधिकारी नरबहादुर नेगीले बताए।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनमा परी ८ जना प्रहरी र एक जना नावालक मारिएका थिए। घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलिरहेको छ। ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरी सहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् भने बाँकी अझै फरार रहेका छन्।