सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको प्रदेशसभा ‘ख’ मा जोशीको दाबी, नपाए काँग्रेस विपीसँग तालमेल गर्ने 

२०७९ भदौ ९, ०६:४० खबर संवाददाता

धनगढी: २ प्रदेश सभा क्षेत्र रहेको डडेल्धुराको प्रदेशसभा ‘ख’ मा सत्तारुढ गठबन्धनमध्येको दल एकीकृत समाजवादी पार्टीले दाबी गरेको छ। आगामी आम निर्वाचनमा प्रदेश सभा ‘क’ र प्रतिनिधिसभाको एक क्षेत्र छाडेर भए पनि प्रदेशसभा ‘ख’ अनिवार्य रुपमा पाउनुपर्ने दाबी एकीकृत समाजवादीले गरेको हो। 

बुधबार पार्टीको सचिवालय बैठकले अगामी चुनावमा उम्मेदवार बन्न आकांक्षी देखिएकाहरुको प्रदेश कमिटीमा सिफारिस गरेको छ। तर उनीहरुको नाम भन्न नमिल्ने  जिल्ला सचिव भुवन पाठकले बताए। स्रोतका अनुसार प्रदेशसभा ‘ख’ का लागि ४ जनाको नाम प्रदेश कमिीटलाई सिफारिस गरिएको छ। यस्तै प्रतिनिधिसभातर्फ पनि ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ। 

प्रदेश सभा ‘ख’ मा यसअघि उम्मेदवार बनेका डा ताराप्रसाद जोशीको नाम सिफारिस गरिएको स्रोतले बताएको छ। त्यहाँ जोशीले नै टिकट पाउने प्रबल सम्भावना रहेको छ।  उनी पार्टीका केन्द्रीय सदस्य तथा उद्यमशिलता विभाग प्रमुख पनि हुन्। 

यदि गठबन्धनले ‘ख’ नेकपा एसलाई नदिएको खण्डमा विद्रोह हुने स्रोत बताउँछ। त्यसका लागि नेपाली काँग्रेसबाट निष्काशित भएर नेपाली काँग्रेस (विपी) मा गएका कर्णबहादुर मल्लसँग छलफल समेत भएको स्रोतको दाबी छ।

काँग्रेस विपीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहेका मल्लसँग तालमेलबारे काठमाडौंमा पटकपटक भेटेर छलफल भएको बताइएको छ। ‘उहाँको पार्टीलाई प्रतिनिधि सभामा सघाउने र उहाँले प्रदेशसभा ‘ख’ मा तारा जोशीलाई सघाउने गरी तालमेल हुने सम्भावना छ। त्यसका लागि गृहकार्य भइरहेको छ’ स्रोतले भन्यो।  

काँग्रेस विपीले जिल्लामा नेकपा एमालेसँग पनि मोर्चाबन्दी गर्ने तयारी थालेको छ। स्थानीय तहको निर्वाचनमा तालमेल गरेका दुवै पार्टी अबको चुनावमा पनि मिल्नेगरी गृहकार्य भइरहेको काँग्रेस विपीका एक नेताले बताए। 

कर्णबहादुर मल्ल र तारा जोशी यसअघि सोही क्षेत्रमा भिडेका थिए। २०७४ को निर्वाचनमा तारा जोशीलाई ३५६ मतले हराउँदै मल्ल विजयी भएका थिए। 
 

कमेन्ट लोड गर्नुस