सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोप्य स्रोत ‘लिक’ गर्ने दार्चुलाका पत्रकारलाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण

२०७९ भदौ ८, ०५:५९ खबर संवाददाता

धनगढीः प्रेस काउन्सिल नेपालले दार्चुलाका पत्रकार सन्तोषसिंह ठगुन्नालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। बुधबार ठगुन्नालाई गोप्य स्रोत लिक गरेको सम्बन्धमा जवाफ पेस गर्न २४ घण्टे पत्र काटिएको हो। 

पत्रकार ठगुन्नाले सशस्त्र प्रहरीमा राशनको नाममा हुने बेथितिका विषयमा सम्प्रेषित समाचारको गोप्य स्रोत ‘लिक’ गरी पत्रकार आचारसंहिता प्रतिकूल कार्य गरेको सम्बन्धमा परेको उजुरीमाथि छानबिन गर्ने क्रममा यस्तो पत्र पठाएको हो। सशस्त्र प्रहरी बल नम्बर ४४ गण दार्चुलाका एक प्रहरीमार्फत सूचना पाएको भनी उनले लिखित बयान दिएको विषयमा काउन्सिलले अनुसन्धान गरिरहेको छ। पत्रकार आचारसंहिता, २०७३ (पहिलो सशंोधन, २०७६) दफा ४(८) उल्लङ्घन हुने गरी स्रोतलाई गम्भीर क्षति पुग्ने गरी स्रोतको नाम र पहिचान उल्लेख गरेको सम्बन्धमा उक्त स्पष्टीकरण सोधको हो।

सशस्त्र प्रहरी भित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आशामा स्रोतले रासनका नाममा हुन अनियमितताबारे सूचना दिएका थिए। उक्त सुचना समाचारको रुपमा बाहिर आएपछि स्रोतको पहिचान खुलेको विषयमा सार्वजनिक भएको थियो। समाचारमा बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको रासन भत्ता नम्बर ४४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन बिष्टको व्यक्तिगत खातामा जानेबारे पहिलोपटक दिनेशखबरले समाचार प्रकाशित गरेको थियो। यद्यपि दिनेशखबरको समाचारमा स्रोत भने खुलाइएको थिएन।

समाचार प्रकाशित भएको दुई दिनपछि ४४ नम्बर गणले खण्डन गर्दै भनेको थियो, ‘समाचारमा कपोकल्पित, निराधार कुरा लेखी बदनियतपूर्ण, सीमा सुरक्षामा आँच आउने र सीमा सुरक्षामा खटिएको सुरक्षा फौजलाई कमजोर पार्ने काम भएको छ।’ खण्डन प्रकाशन भए पनि बिदामा बसेका सशस्त्र प्रहरी कर्मचारीको नाममा एसपीले रासन भत्ता खाएको आरोप लागेपछि उक्त सूचना मिडियासम्म पुर्‍याउनेको खोजी गर्न एसपी बिष्ट स्वयं खटिएका थिए।

उनैले बयानका कागज सार्वजनिक गरेको भन्दै छानविनका लागि यो विषय काउन्सिलमा पुगेको थियो। समाचारका स्रोत भनिएका सशस्त्र प्रहरीलाई भने हतियारसम्बन्धी अर्को मुद्दा लगाई थुनामा राखिएको थालिएको छ। बेथिति र भ्रष्टाचार गरेको आशंकामा गण प्रमुख विटलाई सशस्त्र प्रहरी मुख्यालय तानिएको छ।

कमेन्ट लोड गर्नुस