सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भूमि आयोगद्वारा डेढ हजार हेक्टरमा नापी, लालपुर्जा वितरण कहिले ?

फाइल फोटो
फाइल फोटो
२०७९ भदौ ८, ०५:३८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर जिल्लाका विभिन्न पालिकामा राष्ट्रिय भूमि आयोगले डेढ हजार हेक्टर जमिन नापी गरेको छ। जिल्लाको ९ वटै स्थानीय तहसँग सम्झौता गरी ४ वटा स्थानीय तहमा नापीको काम भइरहेको हो । उक्त पालिकाहरूमा डेढ हजार हेक्टर जमिन नापी भएको आयोगले जनाएको छ। 

राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अनुसार वेदकोट नगरपालिकामा नापीको काम अन्तिम चरणमा पुगेको छ। यहाँ एउटा वडाबाहेक सबैमा नापी सकिएको छ। ११ हजार ९५९ कित्तामा १ हजार २३४ हेक्टर जमिन नापी भएको आयोगका कञ्चनपुर अध्यक्ष देवेन्द्र ढुंगानाले बताए। उनका अनुसार वडा नं। ९ मा केही विवाद रहेका कारण नापीको काम रोकिएको छ।

यसैगरी दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी नगरपालिकामा नापीको काम भइरहेको छ। दोधारा चाँदनीमा १३६ कित्ता, शुक्लाफाँटामा ३१४, कृष्णपुरमा ३२१, र बेलौरीमा २२५ कित्ता नापी भएको अध्यक्ष ढुंगानाले बताए। आयोगका अनुसार जिल्लाभरिमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीका ६९ हजार ५७५ निवेदन दर्ता भएका छन्। भूमिहीन दलितका २२९८, भूमिहीन सुकुम्बासीका २७३७ र अव्यवस्थित बसोबासीका ६४५४० निवेदन दर्ता भएका छन्।

यसैगरी विगतका आयोगबाट अधुरा रहेका ४ हजार ९६७ र यसपटक दर्ता भएका २७ गरी ४ हजार ९९४ अधुरा कामको पनि कार्यविधिअनुसार प्रक्रिया अघि बढेको अध्यक्ष ढुंगानाले बताए। जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबास र सुकुम्बासीका निवेदन कृष्णपुर नगरपालिकामा दर्ता भएका छन्। यहाँ अव्यवस्थित बसोबासका १५ हजार १३५ र भूमिहीन दलितका ६१ तथा भूमिहीन सुकुम्बासीका १३५ निवेदन दर्ता भएका छन्। शुक्लाफाँटामा अव्यवस्थित बसोबासीका ११ हजार ४८९, भूमिहीन दलितका १९२ र भूमिहीन सुकुम्बासीका १५४ निवेदन दर्ता भएका छन्।

नापीको काम सुरु भएका अन्य पालिकामा पनि छिट्टै नापी सुरु हुने अध्यक्ष ढुंगानाले बताए। उनका अनुसार बेलडाडी र लालझाडी गाउँपालिकामा नापीको काम सुरु हुने तयारीमा छन्। अन्य पालिकाले प्राप्त भएका निवेदन प्रविष्टिको काम नसकेकाले उक्त कार्य सकेपछि मात्रै नापीको काम अघि बढ्ने बताए।

यस्तै नापीको काम सकिएपछि वडास्तरीय सहजीकरण समितिको निर्णय र सर्जमिन मुचुल्कालगायतको आधारमा पालिका स्तरीय सहजीकरण समितिले पनि निर्णय गरेपछि मात्रै जग्गाधनी पुर्जा वितरण गरिने उनले बताए।

कमेन्ट लोड गर्नुस