आगामी वर्षको बजेट १५ खर्ब ७७ अर्ब हुने
राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि बजेट तथा कार्यक्रम प्रक्षेपण गर्नका लागि मध्यकालीन खर्च संरचनाको आधारमा मार्गदर्शन र सीमा पठाएको छ।
सरकारले चालू वर्षको ६ महिनाको प्रगति विवरण समयमै उपलब्ध नगराउँदा खर्च संरचनाकै आधारमा प्ररारम्भिक बजेटको सीमा र मार्गदर्शन पठाइएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले जानकारी दिए। मध्यकालीन खर्च संरचनामा आगमी वर्षको कूल बजेट १५ खर्ब ७७ अर्बको हुने उल्लेख छ। यही आधारमा आगामी वर्षका लागि बजेटको सीमा निधारण हुने कँडेलले बताए। बजेट तर्जुम्मा दिग्दर्शनअनुसार कात्तिक दोस्रो हप्ताभित्रै योजना आयोगमा हुने बजेट स्रोत समितिले अघिल्लो वर्षको खर्च,चालू वर्षको प्रक्षेपण र मध्यकालीन खर्च संरचनाको आधारमा आगामी वर्षका लागि बजेटको प्रक्षेपण प्रारम्भिक प्रतिवेदन बनाइसक्नुपर्ने बताए।
तर संघीयता कार्यान्वयनका लागि १५ औं आवधिक योजना बनाउने काममा बढी समय लाग्दा केही सबै काम सँगसँगै भएको योजना आयोगको सदस्य सुशील भट्टले जानकारी दिए। योजना आयोगले आगामी वर्षका लागि १५ खर्ब हाराहारीमा बजेट हुने प्रारम्भिक प्रक्षपेण गरेको छ। उसले सम्बन्धित मन्त्रालयहरूलाई चैत दोस्रो हप्ताभित्र आगामी वर्षका लागि बजेट,खर्च तथा कार्यक्रमको अनुमान गरी एलएमबीआइएसमा दर्ता गरिसक्नुपर्ने छ।