सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शृङखलाबद्ध चोरीका घटना जारी

२०७५ फाल्गुन १९, ११:१० कमल सावद

धनगढीको मुख्य बजार एलएन चोक देखि करिब २ सय मिटरको दुरीमा रहको होटल साथीको सामुन्ने रहेको काठमाडौ व्युटिपार्लरबाट गत फागुन १३ गते राती मोटरसाईकल चोरी भयो। घरको कम्पाउण्ड भित्र राखिएको से ५ प ६२२ नम्बरको पल्सर मोटरसाईकल चोरी भएपछि सुरक्षा संवेदनशीलता माथि प्रश्न उठेको छ। मोटरसाईकल चोरी भएपछि सवारी धनी मोहनबहादु सिहले प्रहरी र ट्राफिक प्रहरीमा खबर गरेपनि हाल सम्म न मोटरसाईकल फेला परेको छ न त चोरीमा संग्लन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।   

संघिय प्रहरी कार्यालय अगाडी साईकलमा सवार धनगढीका घनश्याम गुप्तालाई बीहिबार से २ प ७५२५ नम्बरको हिरो होण्डा मोटरसाईकलले ठक्कर दियो। ठक्कर दिए लगतै चालक   फरार भए। उक्त मोटरसाईकल चोरीको हुदा ठक्कर दिने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भयो। ठक्करबाट घाईते भएका घनश्याम गुप्ताका छोरा गोविन्द गुप्ताले ठक्कर दिने विरुद्ध प्रहरीमा उजुरी दिएका छन् तर प्रहरीले अहिले सम्म चालक को हुन भन्ने कुरा पत्ता लगाउन सकेको छैन।

यातायात कार्यालय सेतीमा उक्त नम्बरमा भने स्कुटर दर्ता भएको छ। केही दिन पहिले धनगढी उप–महानगरपालिकाको वडा नम्बर ८ मा निर्माणाधीन सीटी हलमा पनि पानी तान्ने मोटर र मोवाइल चोरी भयो। सीटी हल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले मजदुरहरुलाई बसाउन बनाएको अस्थायी  घरबाट मोटर र  मोवाईल चोरी भएको हो। सिटी हलको निर्माणमा काम गर्दै आएका कमल चौधरीले राती सुतेको समयमा सिरानीमा राखिएको मोवाईल चोरी भएको बताए। 

कुलतमा लागेका युवाहरुको बढि चोरीका घटनाहरुमा संलग्नता हुने गरेको प्रहरीको तथ्याँकले देखाएको छ। प्रहरीको सक्रियता कम हुने क्षेत्रमा चोरीका बढिजसो चोरीका  घटनाहरु हुने गरेका छन्। धनगढीको फुलबारी क्षेत्रमा पनि चोरीका घटनाहरु भइरहेको नागरिकको गुनासो छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरि सिंह ओलीले विगतमा भन्दा चोरीका घटनामा केही कमी आएको दावी गरे।

तर सिमा क्षेत्रमा हुने चोरीका घटना न्युनिकरण गर्न नसकिएको उनले बताए। नकबजनि, साधारण, सवारी र जवरजस्ती प्रहरीले चोरीलाई चार प्रकारमा विभाजन गरेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार कैलालीमा चालु आर्थिक वर्ष २०७५-०७६ मा नाकबजनि चोरीका ३ मुद्दा दर्ता भएकामा ५ जना  पक्राउ परेका छन् भने एक जना फरार रहेका छन्। साधारण चोरीमा ४३ मुद्दा दर्ता भएकामा ६३ जना पक्राउ परेका छन् भने ४ जना फरार रहेका छन्।

सवारी चोरीका ३ मुद्दा परेकोमा ५ जना पक्राउ परेका छन्। जबरजस्ती चोरीको एक मात्र मुद्दा परेकोमा ८ जना पक्राउ परेका छन्। ग्रामीण क्षेत्र मात्र नभई धनगढीको मुख्य बजारमा समेत शृङखलाबद्ध रुपमा चोरी हुन थालेपछि  प्रहरीको सक्रियता घटेको गुनासो गरिएको छ।  

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस