डडेल्धुरा दुर्घटना अपडेटः घाइते सबैको पहिचान खुल्यो (नामसहित)
धनगढीः डडेल्धुरामा भएको जीप दुर्घटनामा घाइते भएका ८ जनाको पहिचान खुलेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइते हुनेमा अमरगढी नगरपालिका वडा नम्बर १ का कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा वडा नम्बर २ की चित्रा मल्ल, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल र नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की शारदा पन्त (उप्रेती) रहेका छन्।
यस्तै गन्यापधुरा वडा नम्बर २ का पशुपति मल्ल, जनक मल्ल र जीप चालक यदुनाथ उप्रेती पनि घाइते भएका छन्। घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो डोटीको दीपायलबाट डडेल्धुरा गइरहेको से १ ज ५०४ नम्बरको जीप ऐरी गाउँ मोडमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले बताएको छ।