सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला जीप दुर्घटनामा परेका घाइते यात्रु भन्छन्ः अनियन्त्रित भएपछि गाडी खस्यो 

२०७९ भदौ १, ०५:५१ खबर संवाददाता

धनगढीः दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जीप अनियन्त्रित भएपछि दुर्घटना भएको एक यात्रुले बताएका छन्। जीपमा सवार एक घाइते यात्रुले चालकले गाडी नियन्त्रण गर्न नसकेपछि दुर्घटना भएको बताएको त्यहाँका वडाध्यक्षले दिनेशखबरलाई बताए। 

वडाध्यक्ष जगदिशसिंह धामीले ती यात्रुको भनाइ उदृत गर्दै भने, ‘कन्ट्रोल गर्न नसकेपछि गाडी खसेको भनेर एक यात्रुले बताएका छन्। उनी अलिअलि होसमा थिए। बाँकी ५ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्। चालक पनि घाइते छन्।’ 

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जीप आज दिउसो उल्लानीमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो। यस्तै प्रहरीको टोली दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कमेन्ट लोड गर्नुस