सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालको बाढीबाट उद्धार गरिएका २१ जना तमिलनाडुका तीर्थयात्री भारत फिर्ता, नेपाली सेना र सरकारको सराहना

२०८३ भदौ १३, ०९:५० खबर संवाददाता

नेपालमा हालै भोटेकोशी नदीमा बाढीका कारण जोखिममा परेका तमिलनाडुका २१ जना भारतीय तीर्थयात्रीहरूलाई नेपाली सेनाले सकुशल उद्धार गरी शुक्रवार स्वदेश फिर्ता पठाएको छ। काठमाडौँस्थित भारतीय दूतावास (‘इन्डिया इन नेपाल’)को सहकार्यमा उनीहरूको भारत फिर्ती सहज बनाइएको हो।

नेपालका धार्मिक स्थलहरूको भ्रमणमा आएका तीर्थयात्रीहरू बाढीपहिराका कारण अप्ठ्यारो परिस्थितिमा फसेका थिए। नेपाली सेनाको टोलीले त्वरित उद्धार कार्य सञ्चालन गरी उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको थियो। उद्धार गरिएका तीर्थयात्रीहरूसँग प्रत्यक्ष भेटघाट गर्ने क्रममा उनीहरुले भोगेको अकल्पनीय र कष्टकर अनुभव सुनेर भारतीय विदेशमन्त्री डा एस जयशङ्कर निकै भावुक बनेका थिए।

विपद्को त्यस कठिन घडीमा नेपाली सेनाले देखाएको साहस, तदारुकता र नेपाल सरकारले पु¥याएको सहयोगप्रति उनले विशेष धन्यवाद ज्ञापन गरे। साथै, उद्धार गरिएका नागरिकहरूलाई आवश्यक कागजी प्रक्रिया, आवास र यात्राको प्रबन्ध मिलाई सहज रूपमा भारत फर्काउन खेलेको प्रभावकारी भूमिकाका लागि काठमाडौँस्थित भारतीय दूतावासको समेत उच्च सराहना गरेका छन्। 

कमेन्ट लोड गर्नुस