धनगढीको तारानगरका स्थानीयको पुलबाट सुकुटी नाला तर्ने सपना २३ वर्षदेखि अधुरै
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ५ तारानगरको भगवती टोलका स्थानीयको पुलबाट सुकुटी नाला तर्ने सपना २३ वर्षदेखि अधुरै रहेको छ। तारानगरको वाल विहानी विद्यालयदेखि भगवती टोल जोड्ने सुकुटी नालामा पुल निर्माण नहँुदा पुलबाट नाला तर्ने सपना पुरा नभएको हो। नालामा बगेर २ जना स्थानीयको ज्यान समेत गएकाले सुकुटी नालामा तत्काल पक्की पुल निर्माण गर्नु पर्ने माग स्थानीयको रहेको थियो। स्थानीयको मागलाई पुरा गर्ने भन्दै धनगढी उप–महानगरपालिकाले सो नालामा पक्की पुल निर्माण गर्न वजेट विनियोजन गरेर ठेक्का सम्झौता मार्फत काम सुरु गर्ने भनिएको छ। तर असारमा टेण्डर भएर काम सुरु गरिने भनिएको भएपनि पुल निर्माण कार्य भने अलपत्र छ।
स्थानीयले २०५२ साल अर्थात आज भन्दा २३ वर्ष अगाडी तत्कालीन धनगढी नगरपालिकामा पुल निर्माणको माग गर्दै निवेदन दर्ता गराएको भएपनि पुल निर्माणको काम भने अलपत्र परेको हो। स्थानीयले सरोकारवाला निकायलाई पटक–पटक पुल निर्माण तत्काल गरिदिन भनी गुहार्दा पनि कसैले वास्ता नगरेको स्थानीय पदमराज भट्टले बताए। उप–महनगरपालिकाले पक्की पुल निर्माण गर्ने भन्दै वजेट विनियोज गरेर ठेक्का सम्झौता मार्फत निर्माणको काम गर्ने भनेको थियो। गत असारमा टेण्डर आह्वान गरि ठेक्का सम्झौता समेत भईसकेको छ। असारमा सम्झौता भएको भएपनि कार्तिकको मसान्तमा मात्र पुल बन्ने स्थानमा निर्माण व्यवासायीले निर्माण सामाग्री संकलन सुरु गरका थिए । तर निर्माण सामाग्री राखेको पनि ४ महिना भईसकेको छ निर्माण कार्यको भने कुनै अत्तोपत्तो नभएको सोही टोलका स्थानीयवासी प्रेमबहादुर शाहीले बताए।
तत्कालै पुल निर्माणको काम सुरु गर्ने भन्दै सो क्षेत्रका स्थानीयको बारीमा सरिया लगायतका अन्य केही निर्माण सामाग्री राखिएको थियो। तर निर्माण सामाग्रि राखेपनि निर्माण व्यवसायी पनि फर्केर नआएको आरोप स्थानीयको छ। तारानगरको वाल विहानी विद्यालय र भगवती टोलको विचमा पर्ने सुकुटी खोलामा बगेर २ जना स्थानीयको ज्यान समेत गईसकेको छ। स्थानीय जनप्रतिनिधिलाई पनि पुल निर्माण कार्य तत्काल गरि दिन आग्रह गरेपनि वास्ता नगरेको स्थानीय वासी कृष्णराज भट्टले गुनासो गरे। स्थानीय तहको निर्वाचनमा जन प्रतिनिधिहरुले टोलभित्रका सबै समस्या समाधान गर्ने लगायत सो क्षेत्रमा पक्की पुल तत्काल निर्माण गर्ने बाचा गरेका थिए। तर झण्डै २ करोडको लागतमा निर्माण हुने पुल निर्माण व्यवसायीले निर्माण उपकरण नभएकै कारण अलपत्र परेको बताउँदै आएका छन तर जनप्रतिनिधिहरु भने मौन छन्।