डडेल्धुराको आलितालबाट माछाका भुरा चोरी हुँदै, अब चोर्नेलाई कारवाही गरिने
डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिका–३ मा रहेको आलिताल तालबाट रातिको समयमा माछा चोरी हुन थालेका छन्। आलिताल परिसरबाट संरक्षित माछा निकासी भइरहेको भन्दै चौकीदारले जानकारी दिएको वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर बुढा मगरले बताए।
ताल परिसरबाट माछा र माछाका भुरासमेत चोरी हुन थालेपछि वडा कार्यालयले भुरा चोर्नलाई जरिवान गर्ने भएको छ। एक सूचना जारी गर्दै कार्यालयले पहिलोपटक माछा मारेर चोरी गरिरहेको भेटिए ५ हजार र दोस्रो पटक पनि भेटिए १० हजार जरिवाना गर्ने जनाएको हो।
तेस्रो पटक पनि माछा चोरी गरेको भेटिए कानुनअनुसार कारबाहीका साथै वडा कार्यालयबाट प्रदान हुने सबै किसिमको सेवासुविधा बन्द गर्ने निर्णय भएको वडाध्यक्ष मगरले बताए।
आलिताल सुदूपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो ताल हो। ताल समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको छ। एक हजार १ सय ७५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको ताललाई चुरेका डाँडाले घेरेको छ।