बैतडीको पुरचौंडीका पूर्व मेयरले फिर्ता गरेनन् नगरपालिकाबाट लगेको सामान
बैतडी: बैतडीको पुरचौंडी नगरपालिकाका पूर्व मेयर रणबहादुर कुँवरले नगरपालिकाबाट बुझेको जिन्सी सामान फिर्ता नगरेको खुलेको छ। स्थानीय निर्वाचन भएको तीन महिना पूरा हुन लाग्दासमेत पूर्व मेयर कुँवरले नगरपालिकाबाट बुझेको जिन्सी सामग्री फिर्ता नगरेका हुन्।
निर्वाचित भएपछि व्यक्तिगत प्रयोगका लागि पाएको पलङ्ग, टेलिभिजन, ल्यापटप, सोफालगायतका ३४ किसिमका जिन्सी सामान शुक्रबारसम्म पूर्व मेयर कुँवरले दाखिला नगरेको नगरपालिकाका जिन्सी शाखा प्रमुख उत्तमबहादुर विष्टले बताए।
पूर्व मेयर कुँवरले जिन्सी शाखाबाट बुझेको ग्याँस सिलिण्डर २ थान, चुलो १ थान, ३ वटा स्मार्ट फोन, ७ थान सोफासेट, २ थान स्टिल दराज, १ थान टि टेवल, ७ थान प्लाष्टिक कुर्सी, १ थान भाडा राख्ने र्याक समेत लगेकोमा फिर्ता गरेका छैनन्।
यस्तै कासाको थाल ५ थान, १५ थान कचौरा, ५ थान गिलास, १ थान तामाको जग, २ थान प्रेसर कुकर, २ थान कराइ, १ थान फ्राइप्यान, ४ थान लोटा, १ थान डिस होम सेट, १ थान सोलार प्यानल, २ थान व्याट्री, १ थान इन्भर्टर, १ थान परात, १ थान चौकी–वेलन, १ सेट डाडु–पन्यु र आधा दर्जन चम्चा पनि कुँवरले फिर्ता नगरेको पाइएको हो।
जिन्सी शाखा प्रमुख उत्तरबहादुर विष्टले पूर्व मेयर कुँवरलाई मौखिक रुपमा जिन्सी सामान फिर्ता गर्ने भनेतापनि उनले अहिलेसम्म जिन्सी शाखामा दाखिला नगरेको दिनेशखबरलाई बताए। २०७४ मा नेकपा माओवादीबाट निर्वाचित भएका कुँवर यसपटक भने स्थानीय तहको निर्वाचनमा उठेका थिएनन्।