बैतडीमा पशुहरुमा अज्ञात रोग, किसान चिन्तित
धनगढी: बैतडीमा पशुमा अज्ञात रोग देखिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा घरपालुवा पशुहरुमा अज्ञात रोग देखिएको हो।
स्थानीय गणेश बोहराका अनुसार पशुहरुमा र्याल चुहाउने, घाँस नखाने, ज्वरो आउने, खुरहरु सुन्निने लगायतका लक्षणहरु देखा परेका छन्। घरपालुवा पशुहरुमा अज्ञात रोग देखिएपछि किसान चिन्तित भएका छन्। स्थानीयस्तरमै पशु प्राविधिक खटाएर पशुहरुको उपचार कार्य थालिएको उक्त वडाका अध्यक्ष सूर्यबहादुर बोहराले बताए।
रोग देखिएका पशुहरुलाई अलगै राख्न, चराउन वनमा नलैजान र पशु प्राविधिकहरुको सहयोगमा औषधि उपचार गर्न भनिएको छ। समस्या भएका ठाउँमा वडा कार्यालयमा सम्पर्क राख्न वडाध्यक्ष बोहराले आग्रह गरेका छन्।