सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेथिति उजागर गर्ने दार्चुलाका हवल्दारलाई जेल, फसाइएको परिवारको आशंका

पेन्सन आउने बेला जन्मकैद, परिवारलाई संकट

२०७९ साउन १८, ०२:३३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित महाकाली नगरपालिका–२ मुल्लाका सशस्त्र प्रहरीका हवल्दार नरेशसिंह साहु जेल चलान भएका छन्। २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए। तर, ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा जेल पुगेका छन्।

उनको परिवारले कसैसँग पनि गलत व्यवहार नगर्ने र काम गरिखाने घरपरिवारका मान्छेलाई षड्यन्त्र गरी गम्भीर मुद्दा बनाएर फसाउन खोजिएको आशंका गरेको छ। गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको परिवारजनले बताएका छन्। ०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खाइसकेका छन्।

उनी एक वर्षदेखि दार्चुलामा थिए। पर्वत दरबन्दी भएपनि घर व्यवहार मिलाउनुपर्ने भएकाले उनले दार्चुलामा काज मिलाएका थिए। स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले त्यहाँ भेटिएका एक स्थानीय पत्रकारलाई सशस्त्र प्रहरीभित्रको बेथितिबारे जानकारी दिएका थिए। 

सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि सुधार नरेशले आशा गरेका थिए। तर, नरेश अहिले उल्टै सशस्त्र प्रहरीको को फन्दामा परेका छन्। विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक भएको छ। जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ। श्रीमती दुर्गाले साउन १ गते काठमाडौ्रं पुगेर दुई पटक भेट गर्न पाएकी छन्।

नरेशका एक छोरा र एक छोरी छन्। दाइको मृत्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन्। जागिरले घरपरिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइएको छ। पेन्सन आउनेबेला जन्मकैदको मुद्दा लागेपछि घरपरिवारलाई संकट परेको श्रीमती दुर्गाले बताइन्। 

कमेन्ट लोड गर्नुस