अमेरिकाको केन्टकीमा बाढी, ३७ जनाको मृत्यु
एजेन्सी: अमेरिकाको पूर्वी राज्य केन्टकीमा भीषण वर्षापछि आएको बाढीका कारण ३७ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा कम्तीमा पनि ६ जना बालबालिका रहेका बीबीसीले जनाएको छ।
बाढीमा परेर १ सयभन्दा धेरै बेपत्ता भएका र उनीहरुको खोजी भइरहेको खबरमा उल्लेख छ। कयौँ घर तथा भवनहरु डुबानमा परेका छन्। त्यहाँका १२ हजारभन्दा बढी घरमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ। सडक, पुल र अन्य पूर्वाधारमा भएका क्षतिको मर्मत गर्ने काम भइरहेको छ।
केन्टकीका गभर्नर एन्डी बेसियरले बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन्। उनका अनुसार पानी परिरहेकाले बाढीमा फसेकाहरुको उद्धार गर्न र उनीहरुलाई अत्यावश्यक वस्तु उपलब्ध गराउन कठिनाइ भएको छ। बाढी प्रभावित क्षेत्रमा थप वर्षा हुने भन्दै सतर्कता अपनाउन भनिएको छ।