अमेरिकी ड्रोन हमलामा अल-कायदा प्रमुख मारिएकाे दाबी
काठमाडौँ: अल-कायदाका प्रमुख अयमान अल जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिएका छन्। उनी ड्रोन हमलामा अफगानिस्तानमा मारिएको अमेरिकी राष्ट्रपति जो बाइडनले पुष्टि गरेको हो।
अमेरिकी गुप्तचर संस्था सीआईएको प्रतिआतङ्कवाद कारबाहीमा आइतबार अफगान राजधानी काबुलमा उनी मारिएको बीबीसीले उल्लेख गरेको छ। बाइडनले जवाहिरीले अमेरिकी नागरिकहरू विरुद्ध हत्या र हिंसाको गोरेटो कोरेको बताए। ‘अब न्याय मिलेको छ र यी आतङ्कवादी नेता जीवित छैनन्,’ उनले भने।
अधिकारीहरूका अनुसार सुरक्षित घरको कौसीमा बसिरहेका जवाहिरीमाथि ड्रोनले दुई वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। बाइडनले आफूले ७१ वर्षीय अल-कायदा नेता विरुद्ध लक्षित हमलाका लागि अन्तिम स्वीकृति दिएको बताएका छन्।
सन् २०११ मा ओसामा बिन-लादेन मारिएपछि जवाहिरीले अल–कायदाको नेतृत्व लिएका थिए। सेप्टेम्बर ११ मा अमेरिकाका विभिन्न ठाउँमा भएको हमलाको योजना बिन-लादेन र उनले संयुक्त रूपमा बनाएका थिए। -बीबीसी