बैतडीमा कोरोनाका १४ जना सक्रिय संक्रमित
धनगढी: बैतडीमा कोरोना भाइरसका १४ जना सक्रिय संक्रमित रहेका छन्। जिल्लाका ५ ओटा स्थानीय तहमा सक्रिय संक्रमित रहेका हुन्।
स्वास्थ्य कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा ६ जना, पुर्चौंडी नगरपालिका, सुर्नया, सिगास र दोगडाकेदार गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका छन्। अन्य ४ जना जिल्ला बाहिरका सक्रिय संक्रमित पनि रहेका छन्। दुई साता पहिले कोरोनाका सक्रिय संक्रमित शून्य रहेको बैतडीमा पछिल्लो समय भने बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए।
भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा भारतबाट फर्कने नागरिकको नियमित कोरोना परीक्षण भइरहेको बताइएको छ।