सुदूरपश्चिमका २१ प्रतिशत नागरिकले अझै पाएनन् कोरोनाविरुद्धको खोप
धनगढीः सुदूरपश्चिम प्रदेशको कूल जनसंख्या २७ लाख १८ हजार १६७ छ। ती मध्ये २२ लाख ८३ हजार ३९२ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य प्रदेश सरकारले लिएको छ। तर, लक्ष्यको ७९ प्रतिशत अर्थात १८ लाख एक हजार ५८६ जनालाई मात्र खोप लगाइएको छ।
प्रदेशमा २१ प्रतिशतले अझै खोप लगाएका छैनन्। बझाङ र अछाममा खोप लगाउनेको संख्या सबैभन्दा न्यून छ। बझाङमा ६५ प्रतिशतले पहिलो र ६३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। यस्तै अछाममा ६५ प्रतिशतले पूर्ण, ५९ प्रतिशतले पहिलो र ३१ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्तले बझाङ र अछाम बाहेक सबै जिल्लाको खोपको अवस्था सन्तोषजनक रहेको बताए। उनका अनुसार सुदूरपश्चिमका ८२ प्रतिशत नागरिकले खोपको पहिलो मात्रा लगाएका छन्। प्रदेशका ७९ प्रतिशत नागरिकले दुवै मात्रा लगाएका छन्। प्रदेशका ३१ प्रतिशत नागरिकले अतिरिक्त मात्रा लगाएका छन्।
स्वास्थ्य महाशाखाका अनुसार कञ्चनपुरमा ८७ प्रतिशत नागरिकले खोप लगाएका छन्। जिल्लामा पहिलो मात्रा ९१ प्रतिशत र थप मात्रा ३२ प्रतिशतले लगाएका हुन्। उता बाजुरामा सबैभन्दा बढीले पहिलो मात्राको खोप लगाएका छन। जिल्लामा पूर्ण मात्रा ८६ प्रतिशतले लगाएका छन् भने २२ प्रतिशतले अतिरिक्त मात्राको खोप लगाएका छन्।
दार्चुलामा ८६ प्रतिशतले पूर्ण मात्रा र ८२ प्रतिशतले पहिलो मात्रा एवम् ३० प्रतिशतले अतिरिक्त मात्रा लगाएका छन्। बैतडीमा पनि ८६ प्रतिशतले पूर्ण मात्रा तथा ८५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्।
डडेल्धुरामा ८४ प्रतिशतले पूर्ण, ८२ प्रतिशतले पहिलो तथा ३६ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्। डोटीमा ७८ प्रतिशतले पूर्ण, ७१ प्रतिशतले पहिलो र ३३ प्रतिशतले अतिरिक्त मात्रा खोप लगाएका छन्। यता कैलालीमा ७९ प्रतिशतले पूर्ण, ८६ प्रतिशतले पहिलो तथा ३६ प्रतिशतले अतिरिक्त मात्रा लगाएका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका डाक्टर जगदिश जोशीले कोरोना खोपका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक हुने बताएका छन्। निर्देशनालयले भदौमा पूर्णखोप घोषणा गर्ने योजना बनाएको छ।