सुदूरपश्चिममा राष्ट्रिय गौरवका आयोजनाहरुको काम कछुवा गतिमा
सुदुरपश्चिम सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणको काम सुस्त गतिमा भईरहेको छ । देशभर २१ व्टा राष्ट्रिय गौरवका आयोजना रहेकोमा त्यसमा दुई वटा पुर्ण रुपमा सुदुरपश्चिम प्रदेशमा रहेका छन भने तीन वटा गौरवका आयोजनाले सुदुरपश्चिमलाई पनि समेटेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु सुरु भएको लामो समय हुँदखा पनि ती आयोजनाहरुले गति लिन नसक्दा समय र लागत दोब्बर बढी लाग्ने देखिएको छ । अधिकांश गौरवको आयोजनाको प्रगति नाजुक छ । सरकारले आव २०६८÷०६९ मा १७ तथा आव २०७०÷०७१ मा चार गरी २१ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने निर्णय गरेकोमा ती मध्येका सुदुरपश्चिम प्रदेशमा रहेका गौरवका आयोजनाले पनि गति लिन नसकेका हुन् । ३६ बर्षदेखि अल्झिदै आएको र २२ वर्षअघिदेखि अघि बढेको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाको हालसम्म कुनै प्रगति हुन सकेको छैन । १७ वर्षसम्म स्मेकले अनुमतिपत्र –लाईसेन्स) ओगटेको आयोजनाबाट चिनियाँ कम्पनी थ्री गर्जेजले पनि हात झिकेपछि आयोजना कसरी अघि बढाउने भन्ने अन्योल कायम छ । लगानी बोर्डले यसबारे अध्ययनका लागि बोर्डका उपाध्यक्ष एवं अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा समिति गठन गरेपनि यसले कसरी अघि बढाउने भने पनि हालसम्म यसको प्रारूप नबनेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए ।
राष्ट्रिय गौरवको आयोजनामा रहेको पश्चिम सेतीको प्रगति शुन्य नै रहेका वेला अन्य आयोजनाले पनि गति लिन सकेका छैनन् । ११ वर्षअघि सुरु भएको हुलाकी राजमार्गको भौतिक प्रगति २५ प्रतिशत मात्र मात्र छ । तर सुदुरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरमा यसको भौतिक प्रगति ४० प्रतिशतको हाराहारीमा पुगेको छ । हाल पनि कैलालीमा केही काम भईरहँदा पनि कञ्चनपुरमा भने कामले गति लिन सकेको छैन् । आवश्यक बजेट हुँदा पनि विभिन्न समस्याले हुलाकी राजमार्गले तिव्रता पाउन नसकेको हुलाकी सडक आयोजना कैलालीका प्रमुख राम पुकार जैसवलाले बताए । १० वर्षअघि सुरु भएको मध्यपहाडी लोकमार्गको प्रगति ४५ प्रतिशत भएका वेला सुदूरपश्चिम प्रदेशमा १० बर्षमा सडक कालोपत्रेको काम भने अन्तिम चरणमा पुगेको छ। बैतडीमा १४ र अछाम जिल्लामा ४० गरी ५६ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ भने अव झण्डै २० किलोमिटर मात्रै कालोपत्रे हुन बाँकी छ । सुदुरपश्चिम प्रदेशमा १० बर्ष अघि सञ्चालित रानीजमरा कुलरीया सिञ्चाई आयोजनामा पनि ३६ प्रतिशत मात्र भौतिक प्रगति छ । ८ वर्षअघि सुरु भएको रेल्वे तथा मेट्रो विकास आयोजनाको भौतिक प्रगति सवैभन्दा कम १३.७ प्रतिशत भौतिक प्रगति हुँदा सुदुरपश्चिम प्रदेशमा रेल मार्गको डिपिआरको काम भएको छ । पूर्व—पश्चिम विद्युतीय रेलमार्गअन्र्तगत बुटवलदेखि कञ्चनपुरकागड्डाचौकीसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । भारतीय कम्पनीले निर्माण गर्ने रेलमार्ग खण्डको डीपीआर रेल विभागमा आइसकेको छ । रेलमार्ग निर्माणका लागि रेल विभागको स्वीकृतिका लागि गईसकेको विभागका सूचना अधिकारी तथा सिनियर डिभिजन इन्जिनियर अमन चित्रकारले बताए ।
सरकारी निकायबीच समन्वयको अभाव, निर्माण सामग्रीको अभाव तथा स्थानीय स्तरमा रहेका सानातिना समस्याका कारण पनि राष्ट्रिय गौरवका आयोजनाको प्रगति समग्रमा राम्रो हुन नसकेको हो । सरकारले राष्ट्रिय गौरवको भनी प्राथमिकताका साथ छुट्याएका ठूला पूर्वाधार सम्बन्धी योजनामध्ये अधिकांशको प्रगति सुस्त भएको भनि एक सरकारी प्रतिवेदनमै आलोचना समेत गरिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा राष्ट्रिय गौरवको आयोजनामध्ये अधिकांशको प्रगति न्यून रहेको देखाएको छ। राष्ट्रिय गौरवको आयोजना निर्धारण गर्ने मापदण्ड पनि यहाँ नरहेका वेला गौरवका आयोजनाहरुलाई अव समस्या समाधान गरेर अगाडी बढ्ने राष्ट्रिय योजना आयोगका सदस्य ईन्जिनियर सुशिल भट्टले बताए । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार १० वर्ष नाघेका तथा भौतिक प्रगतिका आधारमा अझै आधा दशकभन्दा बढी लाग्ने अवस्थामा रहेका आयोजनाहरूलाई विकास विज्ञहरूले रोगी आयोजनाको रूपमा अथ्याउने गरेका छन् । तर, राष्ट्रिय योजना आयोगले भने गौरवका आयोजनाहरूमा समस्या देखिए पनि समाधानका लागि पहल गरिरहेको दावी गरेको छ ।