सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘देउवा सरकारले एक वर्षसम्म अपराधी पत्ता लगाउन के गर्‍यो ?’

२०७९ साउन १०, ०२:०५ खबर संवाददाता

धनगढी: नेकपा एमालेका सांसद केदार सिग्देलले निर्मला पन्त प्रकरणमा दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले प्रतिपक्षमा हुँदा सरकारले हत्यारा पत्ता लगाएन भन्दै चर्को बोल्ने नेपाली कांग्रेसले सत्तामा पुगेपछि हत्यारा पत्ता लगाउन के–के काम गरेको छ रुभन्दै प्रश्न गरेका छन्।

‘तत्कालीन ओली सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसका सांसद्हरू बोलेको हलमा सुनिन्थ्यो । देउवा सरकारले एक वर्षसम्म अपराधी पत्ता लगाउन के गर्‍यो ? सिन्को भाँचेको छैन’ उनले भने,  ‘अपराधी, दोषी पत्ता लगाउन माग गर्दछु।’

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पूरा भएको छ। तर पन्तको हत्या प्रकरणमा प्रहरीले अझै पर्दा उघार्न सकेको छैन। भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकी थिइन्।

भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको शव फेला परेको थियो। त्यसपछि निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आएको थियो। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठे पनि प्रहरीले दोषीलाई कानुनी दायरामा ल्याउन सकेको छैन। 

कमेन्ट लोड गर्नुस