बर्सातमा पानीपुरीको सेवनले यस्तो गम्भीर प्रकारको बिरामी !
धनगढीः वर्षात्को समयमा पानीजन्य विभिन्न रोगहरूको संक्रमणको जोखिम धेरै हुन्छ। यो समयमा विभिन्न रोगको प्रकोप फैलिने जोखिम हुन्छ। त्यसमध्ये पनि सबैभन्दा धेरै टाइफाइडको जोखिम हुन्छ।
भारतमा प्रत्येक वर्ष वर्षाको मौसममा टाइफाइडमा धेरै बिरामी देखिने गरेका छन्। तेलंगनामा राज्यमा टाइफाइडले आतंक मच्चाइरहेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ। जसको प्रमुख कारण सडकमा बेचिने पानीपुरी लगायतका खानाहरू रहेको त्यहाँको स्वास्थ्य विभागले निष्कर्ष निकालेको छ।
मे महिनामा मात्र तेलगंनामा २ हजार ७ सय टाइफाइडका केस पाइएका थिए। जुनमा उक्त संख्या २ हजार ७ सय ५२ रहेको थियो। सामुदायिक स्वास्थ्य निर्देशक डा जि श्रीनिवास रावले टाइफाइडलाई ‘पानी पुरी रोग’ भनेका छन्। सरकारले वर्षात्को समयमा पानीपुरी नखान सबैलाई सुझाव दिएको छ। डा रावले पानीपुरी बेच्नेहरूलाई सरसफाइमा ध्यान दिन र स्वच्छ पानीको मात्र प्रयोग गर्न आग्रह गरेका छन्।
दूषित पानी, खाना तथा लामखुट्टेका कारण मौसमी विरामी जस्तै, मलेरिया, झाडापखाला, भाइरल ज्वरोलगायत हुने गर्दछ। तेलंगनामा ६ हजारभन्दा धेरैजना झाडा पखालाबाट प्रभावित भएका छन्। डेंगुको केस पनि धेरै बढिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।