बाजुराका स्थानीय तहमा ७९ करोड बेरुजु
धनगढीः महालेखा परीक्षकको कार्यालयले २०७८ को वार्षिक प्रतिवेदनमा बाजुरामा ७९ करोड बढी बेरुजु रहेको उल्लेख गरेको छ। ९ वटा स्थानीय तहको ७९ करोड ९३ लाख २८ हजार रहेको प्रतिवेदनमा उल्लेख भएको छ।
आर्थिक वर्ष ०७६/०७७ सम्म बाजुराका ९ वटै स्थानीय तहमा बेरुजुको विवरण महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको हो। प्रतिवेदनमा सबै भन्दा बढी त्रिवेणी नगरपालिका र कम गौमुल गाउँपालिकामा रहेको छ।
त्रिवेणी नगरपालिकामा १७ करोड ९२ लाख ३० हजार बेरुजु रहेको छ। त्यसै गरी गौमुल गाउँपालिकामा ३ करोड ६२ लाख ३५ हजार रहेको छ। बडिमालिका नगरपालिकामा ६ करोड ६५ लाख ४७ हजार रकम बेरुजु रहेको छ। त्यस्तै स्वामिकार्तिक खापर गाउँपालिकामा ९ करोड ६७ लाख ६९ हजार रहेको छ। जगन्नाथ गाउँपालिकामा ६ करोड ५५ लाख ३० हजार, खप्तड छेडेदह गाउँपालिकामा ८ करोड २९ लाख ८१ हजार, हिमाली गाउँपालिकामा ८ करोड १५ लाख १४ हजार बेरुजु रहेको छ। त्यस्तै बुढीनन्दा नगरपालिकामा ११ करोड ९१ लाख ९७ हजार र बुढीगंगा नगरपालिकामा ७ करोड १३ लाख २५ हजार रकम बेरुजु रहेको छ।
प्रचलित कानुनबमोजिम रीत नपुर्याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको र अनियमित तथा बेठीक तरिकाले आर्थिक कारोबार गरेको भेटिएमा महालेखाले त्यस्तो रकमलाई बेरुजु मान्छ। कतिपय बेरुजु प्रक्रिया नपुग्दा देखिन्छ भने कतिपय अनियमितताले हुन्छ। प्रतिवेदनका अनुसार कतिपय रकम भने फिर्ता गर्न उल्लेख गरेको छ।