कारागारमा कोरोना फैलियो, १६ जना अस्पताल भर्ना
काठमाडौंः मोरङको विराटनगरस्थित जिल्ला कारागारका १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुलाई कोशी कोभिड अस्पताल भर्ना गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार उनीहरुलाई आजै कोभिड अस्पताल भर्ना गरिएको हो।
कारागारको अवस्था खराब भयो, कारागारका कतिपय कोठाहरू आइसोलेट गर्ने तयारी भएको छ,’ दाहालले भने, ‘संक्रमित भएको हुनसक्ने अन्य कैदी बन्दीहरुको कोभिड परीक्षणका लागि महानगरपालिकाले ५० वटा किट लिएर गएको छ।’ कारागारका एक कैदीको भने अत्याधिक ज्वरोको कारण मृत्यु भएको छ। उनलाई कोरोना संक्रमण हो कि होइन भन्ने विषय अझै पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। कारागारमा रहेका ३९ वर्षीय कैदी नीरबहादुर नेपालको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मोरङ कारागारमा १ हजार ८७ जना कैदीबन्दी रहेका छन्। कारागारमा महिला ब्लकमा भने कसैमा पनि कोरोनाको लक्षणका बिरामी नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। कोरोना संक्रमण हुने सबै कैदी बन्दी पुरुषहरु हुन्।