सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट कौडीको भाउमा निर्यात हुन्छ जडीबुटी

दार्चुलामा बरामद भएको ३५० किलो झ्याउ ।
दार्चुलामा बरामद भएको ३५० किलो झ्याउ ।
२०७९ असार ३०, १०:१५ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशभित्र एक वर्षको अवधिमा २४ लाख १६ हजार ६ सय ४५ किलोग्राम जडीबुटी तथा गैरकाष्ठ वन पैदावार उत्पादन तथा निकासी भएको छ। जसमध्ये १२ लाख ६४ हजार चार सय एक किलो जडीबुटी तथा गैरकाष्ठ वन पैदावार निकासी भएको हो। विभिन्न औषधिका रुपमा प्रयोग हुने जडीबुटी प्रदेशका विभिन्न जिल्लाबाट कच्चा पदार्थको रुपमा निकासी हुँदै आएको छ। 

जडीबुटीमा आधारित उद्योग प्रदेशभित्र अझै खुल्न नसकेका कारण वन जंगलबाट संकलित जडीबुटी सिधै कच्चा पदार्थको रुपमा भारत लगायतका मुलुकमा निर्यात गरिँदै आएको छ। जडीबुटीका लागि उच्च सम्भावनाको प्रदेश सुदूरपश्चिम भएपनि एउटै प्रशोधन उद्योग नभएका कारण कच्चापदार्थको रुपमा मात्र निर्यात हुँदै आएको आयुर्वेदिक औषधालय धनगढीका प्रमुख डाक्टर खगेन्द्र बमले बताए। ‘धनगढीको कनरीमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि भौतिक संरचना निर्माण भएपनि हाल प्रशोधनको काम बन्द छ’ उनले भने, ‘ठुलो प्रकृतिको एउटै उद्योग नभएकाले सस्तो मूल्यमा यहाँको अमुल्य जडीबुटी भारत लगायतका मुलुकमा निर्यात गर्नुपर्ने बाध्यता छ।’

प्रदेशभित्र चारवटा जडीबुटी प्रशोधन केन्द्र स्थापना भएपनि अहिले ठूलो परिणाममा कञ्चा पदार्थकै रुपमा जडीबुटी निकासी हुँदै आएको छ। विभिन्न प्रजातिका जडीबुटीको कच्चा पदार्थ निर्यात गरेर प्रदेश सरकारले ११ करोड १० लाख ३२ हजार १९४ रुपैयाँ राजस्व आम्दानी गरेको छ। सुदूरपश्चिम प्रदेशभित्र वार्षिक २० करोडसम्मको जडीबुटी उत्पादन हुने गरेको अनुमान छ। सुदूरपश्चिम जडीबुटीका लागि भण्डार मानिए पनि यहाँबाट कौडीको भाउमा कच्चापदार्थको रूपमा मात्र अन्यन्त्र पठाउने गरिएको छ। 

सुदूरपश्चिमबाट संकलित जडीबुटीबाट बनेको औषधि पुनः बाहिर मुलुकबाट आयात गरेर महँगो मूल्यमा उपभोग गर्नुपरेको छ। यहाँको जडीबुटीलाई तयारी औषधिको रूपमा निर्यात गर्ने बेला भएको कैलाली उद्योग वाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष दिनेश लम्सालले बताए। ‘यहाँबाट संकलित जडीबुटी सस्तो मूल्यमा भारत निर्यात भइरहेको छ। सरकारले यस विषयमा अहिलेसम्म कुनै ठोस योजना बनाएको देखिदैन’ उनले भने। 

सुदूरपश्चिमका विभिन्न क्षेत्र गरी ८० हेक्टर क्षेत्रफलमा जडीबुटी खेती विस्तार भएको प्रदेश सरकारको दाबी छ। जडीबुटीमा आधारित आयुर्वेद चिकित्सालय सञ्चालनका लागि शहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले २३ करोडमा धनगढी उपमहानगरपालिका वडा नम्वर १३ राजपुरमा सुदूरपश्चिम आयुर्वेद चिकित्सालय निर्माण गरेको भएपनि त्यो सञ्चालनमा आउन सकेको छैन। २०७७ मै ५० बेड क्षमताको आयुर्वेद चिकित्सालय सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले ३६ जनाको दरबन्दी समेत तोकेको छ। 

जडीबुटीको भण्डार मानिने सुदूरपश्चिमबाट कञ्चापदार्थको रुपमा नभई तयारी ट्याबलेटको रुपमा निर्यात गर्न सकिने आधार हुँदाहुँदै पनि संघ र प्रदेश सरकारको बेवास्ताका कारण यहाँको जडीबुटी कौडीको भाउमा विक्री हुँदै आएको निजी क्षेत्रको गुनासो छ।

कमेन्ट लोड गर्नुस