सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका ‘चिफसर’बारे संसदमा आवाज उठ्यो, मुद्दा दर्ता गर्न माग

२०७९ असार २७, ०४:५२ खबर संवाददाता

धनगढी: कैलालीकी सांसद लक्ष्मी चौधरीले बलात्कारको आरोप लागेका बैतडीको पुर्चौडी क्याम्पस प्रमुख राजेन्द्र नेगीविरुद्ध मुद्दा दर्ता हुनुपर्ने माग गरेकी छन्।  बैतडीमा ‘चिफ सर’बाट बलात्कृत कैलालीकी महिलालाई प्रहरीले उल्टै धम्क्याएको खबर सञ्चारमाध्यममा आएका थिए।  सोही विषयलाई सांसद चौधरीले  सोमबार प्रतिनिधि सभा बैठकमा पुर्‍याएकी हुन्।

असार २० गते पुर्चौडी बहुमुखी क्याम्पस प्रमुख नेगीले एक मजदुर महिलालाई बलात्कार गरे पनि प्रहरीले अझै मुद्दा दर्ता गर्न नमानेको चौधरीले बताइन् । बैठकमा बोल्दै उनले भनिन् - ‘पीडित महिलाले प्रहरीमा उजुरी गर्न जाँदा पिडकले धम्की दिएको ती महिलाले बताएकी छन् । त्यसको सत्य तथ्य छानबिनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण होस् । घटना दर्ता होस् र पीडितले न्याय पाओस्।’ 

नेगीमाथि कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी चौधरी समुदायकी एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले आफूमाथि बलात्कार भएको बताउँदै नेगीविरुद्ध कैलालीबाट मुद्दा दर्ता गर्ने बताएकी छन्। 

नेगीले सोमबार पदबाट राजीनामा दिइसकेका हुन्। नेगीले आफूप्रतिको आग्रह र पूर्वाग्रहका कारण केही अमुख व्यक्ति, राजनीतिक दलका भातृसंगठनहरुले अपुष्ट कुरा फैलाएर चरित्र हत्या गर्ने प्रयास गरेकोले सत्यतथ्य छानबिन नहुन्जेलसम्मका लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।

बैतडीमा ‘चिफ सर’बाट बलात्कृत कैलालीकी महिलालाई प्रहरीले उल्टै धम्क्याएपछि...

कमेन्ट लोड गर्नुस