डडेल्धुरा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
डडेल्धुरा: डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको प्रमुख आतिथ्यतामा आइतबार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा डडेल्धुरालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
मन्त्री बोहराले जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारी र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरे। मन्त्री बोहराले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि योगदान पुगाउने सबैलाई धन्यवाद ज्ञापन गरे।
उनले प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि थुप्रै योजना अगाडि बढाएको बताउँदै भने, ‘गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनको काम अगाडि बढिसकेको छ। डडेल्धुरामा मेडिकल कलेज खोल्न धेरै प्रक्रिया अगाडि बढेका छन्।’ मन्त्री बोहराले प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि उपचार सेवामा सबैको पहुँच पुगाउनका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको बताए। ‘विपन्न परिवारलाई पनि सहजै उपचार सेवा प्रदान गर्नका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो,’ मन्त्री बोहराले थपे । यस्तै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणापछि पनि त्यसको दिगोपनाका लागि सक्रिय भएर काम गर्न मन्त्री बोहराले स्वास्थ्यकर्मीलाई आग्रह गरे।
यस्तै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न भूमीका निर्वाह गरेको भन्दै कार्यक्रममा जिल्लाका स्वास्थ्य स्वयमसेवीका, स्वास्थ्यकर्मी र सात वटै पालिकालाई सम्मान पनि गरिएको छ। जिल्लाका सात स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।
जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि सात वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको थियो। पालिकाले पूर्णखोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षण गर्दै १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमनसमेत गरिएको थियो। यसअघि सुदूरपश्चिम प्रदेशका दार्चुला र बैतडी जिल्लालाई पूर्ण खोप सुनिश्चित गरिएको छ।
सोमबार डोटी र मंगलबार कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका निर्देशक डाक्टर जगदिश जोशीले बताए।