बाजुराको बुढीगंगामा भोलि मतदान, एक हजार बढी सुरक्षाकर्मी खटाइए
बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन भोलि बिहीबारलाई तय गरिएको छ। गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।
भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी जानकारी दिए। बिहीबार बिहान ७ बजेदेखि हुने मतदानका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको उनले बताए। मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालित भएका छन्। १० ओटा मतदानस्थल रहको पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित गरिएको सुरक्षा निकायले जनाएको छ। मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका छन्।
मंगलबारदेखि उनीहरूले संयुक्त रुपमा मतदान क्षेत्रका स्थानीय गाउँमा गस्ती समेत सुरु गरेको नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए। १० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मतदानस्थल रहेको विद्यालयमा एक साताअघिदेखि नै बिदा दिइसकिएको छ भने मंगलबारदेखि ३ दिन नगरपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन्। १० वडा रहेको यस नगरपालिकाको कूल मतदाता संख्या १२ हजार ६ सय ५९ मतदाता रहेको छ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। जेठमा बसेको सर्वदलीय बैठकमा असार २३ गते गर्ने राजनीतिक दलको सहमतिपछि बुढीगंगामा पुनः निर्वाचन हुन लागेको हो।