सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु

२०७९ असार २२, ०५:३९

एजेन्सी: भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु भएको छ। बेपत्ताको खोजी र उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरोमा परेर मृत्यु भएका अधिकांशमा प्रादेशिक सेनाका जवान छन्। 

पहिरो गएको सातौँ दिन पनि खोजी तथा उद्धार जारी छ। रेलवे लाइन निर्माण स्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मी पहिरोमा परेका थिए। राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवकसहित चारसयभन्दा बढी कर्मचारी उद्धारमा संलग्न छन्।

पहिरोले तामेङलङ र नोनी जिल्लाबाट बग्ने खोला पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण खोलमा  बाँधजस्तै संरचना निर्माण भएको छ। थुनिएको पानीले निकास पाएपछि तल्लो तटीइ क्षेत्र डुबानमा पर्ने सम्भावना रहेको जनाउँदै स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानान्तरणका लागि तयार रहन निर्देशन दिएको छ। मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले पहिरोलाई राज्यको इतिहासकै सबैभन्दा भयावहपूर्ण घटना भएको बताएका छन्। 

कमेन्ट लोड गर्नुस