बाजुराको बुढीगंगामा निर्वाचनका लागि ९५ कर्मचारी खटाइए
बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकामा यही असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार पुनः निर्वाचनका लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारी खटाइएको छ। पुनः निर्वाचन हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ। १९ वटै मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ।
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। जेठमा बसेको सर्वदलीय बैठकमा असार २३ गते गर्ने राजनीतिक दलको सहमतिपछि बुढीगङ्गामा पुन निर्वाचन हुन लागेको हो।