सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका जनताको ५१ किलोको मालामा प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरु पनि अटाए

२०७५ फाल्गुन ८, ०७:४० नवराज पनेरु

कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्मको ५० किलोमिटर सडकको विपिनगरमा शिलान्यास गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डोटीका जनताको तर्फबाट भन्दै ५१ किलोको मालाले स्वागत गरिएको छ। डोटीबाट विजयी प्रतिनिधि सभा सदस्य प्रेम आलेमगरले डोटीका जनताको तर्फबाट भन्दै प्रधानमन्त्रीलाई ५१ किलोको मालाले स्वागत गरेका हुन्। तर प्रधानमन्त्री ओलीले सोही माला लगाउँदा ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि ५१ किलोको मालामा अटाए। यद्यपी कार्यक्रममा ऊर्जामन्त्री पुन र भौतिक पूर्वाधार मन्त्री महासेठलाई सात–सात किलोको छुट्टै मालाले पनि स्वागत गरिएको थियो। 

प्रधानमन्त्रीलाई ५१ किलोको मालाले सम्मान र स्वागत गरिएपछि अहिले सामाजिक सन्जालमा त्यस्को चर्चापरिचर्चा सुरु भएको छ। डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक वहादुर खड्काले फेसवुकमा भनेका छन्, ‘सुदुरपश्चिमका चाकर नेताहरुलाई मेरो अनुरोध, गौरिफन्टा–दिपायल चैनपुर ताक्लाकोट सडक र पश्चिम सेती जलविद्युत आयोजना अगाडि बढाई उद्घघानमा आउनुहोस क्विन्टल–क्विन्टलका माला हाल्न हामी सुदुरपश्चिमेली जनता तयार छौ, ताकी पार्टीका कार्यकर्तालाई ह्विप जारि गर्नु पर्दैन।’ उनका अनुसार प्रदेशको समृद्धिका लागि सेतु सावित हुने आयोजना अलपत्र परेको बेला पहिले नै शिलान्यास भएको सडकको फेरी शिलान्यास गरेर सस्तो लोकप्रियता कमाउने माध्यम मात्रै भयो। 

सामाजिक सन्जाल फेसवुकमै धनगढीका गड्सेरी माईलाले लेखेका छन्। ‘माला लाइदिने जनताप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्नुपर्छ। संभवतः नेता जी पनि मनमनै भन्दै छन्, “ यो नेपाली जनता कस्तो हो यार ? केही नगर्दा नि यसरी माला लाई दिन्छ ,साँच्चिकै केही गर्दिने हो भने त मालाले पुरेर मार्छन् कि क्याहो !“ 

साहित्यकार डिल्लीराज ओझाले फेसवुकमा लेखेका छन्, “कति किलो वा क्विन्टलको प्रतिस्पर्धा गर्नुभन्दा सो माला निर्माण गर्दा कति खर्च लागेको छ भन्ने कुरा विशेष हो ,बरु एकर÷एक सयपत्री मालाले सम्मान गरेर बचेको पैसाले सिटामोल नपाएर मरिरहेकालाई सिटामोल वा कपि, कलम नपाएर पढ्न नपाएकालाई सोको जोहो गरिदिन पाए नेताको नि सम्मान पीडितलाई न्याय हुने थियो।“ ओझाको कुरामा पनि सत्यता छ। सुदूरपश्चिममा अहिले नेताहरुलाई सम्मान र स्वागतका लागि मालाको भारी बोकाउने परिपाटी नै बसिसकेको छ। काम नगर्दै मालाको भारी पाउन थालेपछि नेताहरु पनि जनताको हितमै धेरै गरिसकेको रहेछु भन्दै सोचिरहेका छन् होला। 

डोटीका जनताको तर्फबाट माला लगाएको भनिएपनि धेरै डोटीवासीले नै ५१ किलोको मालाले स्वागत गरिएकोमा सामाजिक सन्जालमा आलोचना गरेका छन्। माला लगाईसकेपछि प्रधानमन्त्री ओलीले पनि डोटी क्षेत्रका सबै समस्या समाधान हुने दावी गरे। एनले विद्युत, सडक लगायतका भौतिक पुर्वाधारको विकास गर्दै डोटीको कायापलट गर्ने दावी गरे।

फोटो : विराज रोस्यारा , भिडियो : श्रवण देउवा

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस