सुदूर नेपाललाई विश्वसँग जोड्दै

गत बर्ष उत्कृष्ट कर्मचारीको पुरस्कार, यो बर्ष ६० हजार घुस सहित पक्राउ

२०७५ फाल्गुन ६, ११:२२ नवराज पनेरु

कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रथम नगरसभाको उद्धघाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईँलाई उत्कृष्ठ कर्मचारीको रुपमा सम्मानित गरिएको थियो। न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख ईन्जिनियर बजगाईँलाई सम्मानपत्र र दोसल्ला सहित सम्मानित गरिएको थियो। तर उक्त सम्मान पाएको एक बर्षमै उनी ६० हजार घुस सहित रंगेहात पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिकाका सब–इन्जिनियर बजगाईलाई ६० हजार घुस सहित रंगेहात अख्तियारले पक्राउ गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले बजगाईलाई नगद ६० हजार घुस सहित आईतवार पक्राउ गरेको थियो। कल्भर्ट निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। उत्कृष्ट कर्मचारीको पुरस्कार पाएको एक बर्षमै ६० हजार घुस सहित पक्राउ परेपछि सम्मानको मापदण्डका विषयमा प्रश्न खडा भएको छ। बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले जनप्रतिनिधि भर्खर आएका बेला कर्मचारीबाटै सम्मानका लागि सिफारिस भएपछि सम्मान गरिएको बताए। 

यता बेलौरीका बासिन्दाले भने उत्कृष्ट कर्मचारी छनौट गर्ने परिपाटीको आलोचना गरेका छन्। स्थानीय खड्क शाहले नगरपालिकाका पदाधिकारीहरुले केको आधारमा उत्कृट कर्मचारीको पुरस्कार दिए ? भन्दै प्रश्न गरे। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस