राहुल गान्धीलाई सम्पत्ति शुद्धीकरणको आरोपमा सोधपुछ
एजेन्सी: भारतको प्रमुख विपक्षी काङ्ग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धीलाई सम्पत्ति शुद्धीकरणको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) को कार्यालयमा सोधपुछको लागि बोलाइएको छ।
गान्धी ईडीको कार्यालयमा पुग्नुअघि विपक्षी नेताहरू पार्टी मुख्यालयमा भेला भए र उनको समर्थनमा विरोध शुरु गरेका थिए। गान्धीसँगै उनकी बहिनी प्रियंका गान्धी वाड्रा, काङ्ग्रेस पार्टीका अन्य वरिष्ठ नेताहरू र दर्जनौं कार्यकर्ताले सरकारविरुद्ध नारा लगाएका थिए। सडकमा अराजक दृश्य देखिएको थियो। प्रदर्शनकारीहरूलाई पार्टी मुख्यालयको ब्यारेकहरूमा रोकिएको थियो र थुप्रैलाई हिरासतमा राखिएको थियो।
दिल्ली ट्राफिक प्रहरीले सोमबार राष्ट्रिय राजधानीका बासिन्दाहरूलाई प्रदर्शनको क्रममा केही सडकहरूबाट जोगिन आग्रह गर्दै सूचना जारी गरेको थियो। यस मामिलामा काङ्ग्रेस पार्टी प्रमुख सोनिया गान्धीलाई पनि छानबिन एजेन्सीले बोलाएको छ। कोभिड–१९ सङ्क्रमण देखिएपछि उनले थप समय मागेकी थिइन्। त्यसपछि एजेन्सीले उनलाई जुन २३ का लागि बोलाएको छ।