सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सब–इन्जिनियर ६० हजार घुस सहित रंगेहात पक्राउ

२०७५ फाल्गुन ५, ०३:४८

कञ्चनपुरको बेलौरी नगरपालिकाका सब–इन्जिनियर हृदयराज बजगाई ६० हजार घुस सहित रंगेहात अख्तियारले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले बजगाईलाई नगद ६० हजार घुस सहित आज पक्रेको हो।  उनले कल्भड निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घुस लिइरहेको अवस्थामा पक्राउ परेको अख्तियारको कञ्चनपुरस्थित कार्यालयका सूचना अधिकारी राजन नेपालले जानकारी दिए। 

बेलौरी नगरपालिकाको चालु आर्थिक वर्षको बजेट अन्र्तगत निर्माण गरिएको कल्भर्टको निर्माण सम्पन्न भइसकेपछि बिल फरफारक गरिदिए बापत सब–इन्जिनियर बजगाईंले ६० हजार माग गरेका थिए। निर्माण सम्पन्न भइसके पनि बिल फरफारको समयमा उनले घुस मागेको अख्तियारलाई सूचना आएको थियो।  अख्तियारको कञ्चनपुरस्थित कार्यालयले घुस लिएको अवस्थामा पक्राउ परेका सब–इन्जिनियरका विषयमा थप अनुसन्धान अघि बढाइने जनाएको छ। घुस लिइसकेको अवस्था पक्राउ परेका सब–इन्जिनियर बजगाईलाई थप अनुसन्धान र कारबाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय पठाइने र त्यही अनुसन्धान र कारबाही प्रक्रिया अघि बढ्ने छ।
 

कमेन्ट लोड गर्नुस