धनगढीमा भाटभटेनी : सवा २ अर्ब लगानी, २ सय बढीले पाए रोजगारी
धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी तथा मुख्य व्यापारिक केन्द्र धनगढीमा भाटभटेनी सुपरस्टोरको २३औं शाखा सञ्चालनमा आएको छ। ०७७ सालको मंसिरबाट निर्माण सुरु गरिएकोमा शुक्रबारदेखि धनगढीबाट सेवा दिन थालिएको हो। सुरुमा १ अर्ब लगानीको अनुमान गरिए पनि अहिलेसम्म सवा दुई अर्ब लगानी भएको सञ्चालक मीनबहादुर गुरुङले बताए।
निर्माण कार्य सुरु भए लगत्तै कोभिड महामारी देखा परे पनि आफ्नो समूहको मेहनतले धनगढी शाखा विस्तार गर्न सम्भव भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताए। "२०७७ को मंसिरमा भूमि पूजा गरेर काम सुरू गरेका थियौँ, कोभिड महामारी आउँदा छिट्टै काम गर्न सकिन्न कि भन्ने लागेको थियो तर आज धनगढीमा शाखा विस्तार गर्न पाउँदा निकै खुसी लागेको छ," उनले भने, "यो सफलता अथक मेहनत र मान्छे भए पछि केही गर्नुपर्छ भन्ने मान्यताको उपज हो।" धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को ६ लेन सडक छेउ बोराडाँडीमा रहेको भाटभटेनीको २३औं शाखामा उद्घाटन लगत्तै किनमेल गर्ने चाहने स्थानीयको घुइँचो लागेको थियो।
व्यवस्थित र वातानुकुलित स्टोरमा सबै किसिमको सामान किन्न पाउँदा खुशी लागेको भाटभटेनी स्टोरमा भेटिएकी सकुन्तला खड्काले बताइन्। "धनगढीमा पनि भाटभटेनी खुल्दा निकै खुसी लागेको छ, उनले भनिन्, "सबै किसिमको सामान छ। मूल्य पनि ठीकठीकै छ। खोजेको कुरा सहज पाउँदा निकै रमाइलो लागेको छ।" करिव एक विघा क्षेत्रफलमा निर्माण भएको भाटभटेनी सुपरमार्केटको भवन १ लाख ५० हजार वर्गफिटमा फैलिएको छ। भाटभटेनीको धनगढी शाखामा खाद्यान्न, लत्ताकपडा, फर्निचर, दैनिक उपभोग्य सामग्री, भाडा वर्तन, सौन्दर्य प्रशाधनका सामग्री राखिएका छन्।
दुई वटा मल्टिप्लेक्स सिनेमा हल निर्माणको चरणमा छन् भने दुईवटा रेष्टुरेन्ट र लक्ष्मी बैंकको शाखासमेत सञ्चालनमा आउने छ। पूर्ण वातानुकुलित भवनमा एलिभेटर जडान गरिएको छ भने शाखा विस्तारको अवसरमा विद्युतीय सामग्रीमा २० प्रतिशत र दैनिक उपभोग्य सामग्रीमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। भाटभटेनीले आफ्नो व्यवसाय प्रवर्धन सँगसँगै ठुलो सँख्यामा रोजगारी सिर्जना गरेको गुरुङले बताए। "हामीले आफ्नो व्यवसाय मात्रै विस्तार गरेका छैनौँ, रोजगारीको अवसर पनि सिर्जना गरेका छौँ," उनले भने, " अहिले धनगढी शाखामा २ सय २५ भन्दा बढीले रोजगारी पाएका छन्।" सुदूरपश्चिममा अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट सञ्चालनमा ल्याएर मुनाफा मात्रै कमाउने उद्देश्य नरहेको गुरुङले बताए।
सुदूरपश्चिमको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रमा योगदान गर्ने सोचसहित सुदूरपश्चिमका दुई जनालाई एमबीबीएस पढाउन छात्रवृत्ति प्रदान गरेको र धनगढी उपमहानगरपालिकासँग ५ वर्षसम्म दुई जना विशेषज्ञ डाक्टर उपलब्ध गराएर नगरवासीको नियमित स्वास्थ जाँच गर्न सहयोग गर्न पाउँदा खुसी लागेको गुरुङले बताए। २०४३ सालमा थोरै लगानीबाट व्यवसाय सुरु गरेको बताउने गुरुङले देशभरका प्रमुख सहरमा भाटभटेनीको शाखा विस्तार गरेका छन्।