फोहोर व्यवस्थापन हुन नसक्दा कुरुप बन्दै धनगढी
धनगढी उप–महानगरपालिका भित्रको फोहर व्यवस्थापन हुन नसक्दा नगर क्षेत्र कुरुप वन्दै गएको छ । फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा फोहरले धनगढी उप–महानगरपालिका कुरुप बन्दै गएको हो । फोहोर फाल्ने भनेर नगरपालिकाले छनोट गरेका स्थानमा समेत सहमति विपरित फोहोर फालिरहेको छ । धनगढीका विभिन्न स्थानमा फोहर फाल्ने स्थान उप–महानगरपालिकाले नै छनोट गरेको छ । तर स्थान छनोट गर्दा भएको सहमति विपरित फोहर फल्ने काम भईरहेको नगरवासीको आरोप छ ।
अन्य स्थानसंगै धनगढीको एलएन चौकमा रहेको क्यास्पीयन एकेडेमी स्कुलको पछाडी फोहर फाल्ने गरी नेपाल बाल संगठनसँग सहमती भएको थियो । सहमतिमा विद्यालय विदाको दिन फाल्ने र फालिसकेपछि माटोले पुर्ने लगायतका अन्य सहमति भएका थिए । तर आईतबार विहान ठिक १० बजेतिर क्यास्पीयन स्कुलको पछाडी फोहोर फाल्न दुई ओटा नगरपालिकाका ट्याक्टर र केही कर्मचारी फोहर ल्याएर स्कुल पछाडी पुगे । स्कुलका शिक्षकले स्कुल लागेको दिन फोहोर फाल्न नपाईने सहमति भएको भन्दै केहीवेर ट्याक्टरको चावी नियन्त्रणमा लिए । तर नेपाल बाल संगठनका अध्यक्षले फाल्न भनेको भन्दै नगरपालिकाका कर्मचारीले फोहर फालेर गए । यो त एउटा उदाहरण मात्रै हो धनगढीका अधिकाश स्थानमा जथाभावी रुपमा फोहोर फाल्ने गरिएको छ । कतिपय स्थानमा स्थानीयहरुले नै फाल्ने गरेका छन भने अधिकाश स्थानमा नगरपालिकाले फाल्ने गरेको छ ।