सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहजपुर–बोगटान सडक कालोपत्रेको काम ८० प्रतिशत पूरा

२०७९ जेठ २६, ०५:४३ कमल सावद

धनगढीः कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि २०१८ डिसेम्बर ८ मा पिआरएल कुमार जेभीसँग सम्झौता भयो। जुन २०२१ मा सडक कालोपत्रेको काम पूरा गर्नुपर्नेमा २०२२ जुन ४ सम्म पनि उक्त सडकको भौतिक प्रगति ८० प्रतिशत मात्रै भएको छ। 

सहजपुर–बोगटान–दीपायल सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले कैलाली क्षेत्रको केही भाग सडक मात्र कालोपत्रे गर्न बाँकी रहेको बताए। उनका अनुसार कैलाली क्षेत्रको सडक कालोपत्रेको कामलाई प्राथमिकता दिइएको छ। 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विस २०७५ को फागुनमा स्तरोन्नतिसहित कालोपत्रका लागि शिलान्यास गरेको सहजपुर–बोगटान सडकका कालोपत्रेका लागि २ अर्ब २५ करोडमा सम्झौता भएको थियो। अब, ३० किलोमिटर नयाँ ठेक्काको प्रक्रिया थालिएको छ। तर सम्झौता भने भएको छैन। बाझबोडदेखि बडिकेदार गाउँपालिका क्षेत्रको थप सडक कालोपत्रेको ठेक्का सम्झौताको प्रक्रिया थालिएको मल्लले बताए।  

एक सय ४० किलोमिटर लम्बाई रहेको सहजपुर–बोगटान–दीपायल सडकको ८० किलोमिटर कालोपत्रेको काम चालु आर्थिक वर्षबाट थालिने भएको हो। तर बाँकी सडक स्तरवृद्धि तथा कालोपत्रेका लागि बजेट अभाव छ।  संघीय सरकार मातहतको उक्त सडकका लागि बजेट विनियोजन भएको छैन। सूचना अधिकारी मल्लले आगामी आर्थिक वर्षका लागि आउने बजेटबारे जानकारी नभएको बताए। 

संघीय सरकार मातहतका सुदूरपश्चिमका सडकका लागि बजेट विनियोजन भएको छैन। तर सडक विभागलाई दिइएको रकमबाट बजेट पाउनेमा प्रदेशका सडक योजना कार्यालयहरु ढुक्क छन्। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस