अमेरिकाको तल्लो सदनबाट बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित गरेको छ।
४ सय ३५ सदस्य रहेको तल्लो सदनमा २ सय २३ जनाले विधेयकको पक्षमा मतदान गरेका न्युयोर्क टाइम्सले जनाएको छ। यो विधेयकले १५ राउन्डभन्दा बढी क्षमता भएका गोलाबारुद बिक्री निषेध गर्छ।
टेक्सास र न्युयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ। अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ।
माथिल्लो सदनबाट पारित हुने सम्भावना भने कम रहेको न्युयोर्क टाइम्सले जनाएको छ। माथिल्लो सदनबाट पारित नभए पनि डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई चुनावी मुद्दा बनाउन सहज भएको छ।
अमेरिकामा आउँदो नोभेम्बरमा मध्यावधि चुनाव हुँदैछ।