डडेल्धुराको राजमार्गमै ग्यारेज, दुर्घटनाको जोखिम
हरिश चन्द, डडेल्धुरा: बिग्रीएका यातायातका सवारी साधन बीच सडकमै पार्किङ गरी मर्मत गर्दा डडेल्धुराको स्याउले चोकमा दुर्घटनाको जोखिम बढेको छ। भीमदत्त राजमार्ग आफैमा साँघुरो छ। उसैमा बिग्रीएका यातायातका सवारी साधन ल्याएर अमरगढी नगरपालिका–१ को स्याउले चोकको सडकमै राखेर मर्मत गर्दा दुर्घटना निम्तिने डर पैदा भएको हो।
स्याउले चोकमा रहेका ग्यारेजहरुका कारण यातायातका साधन ओहरदोहर गर्न समस्या भइरहेका बेला सम्बन्धित निकाय भने बेखबर जस्तै बनेका छन्। सुदूरपश्चिम प्रदेशका सात ओटै पहाडी जिल्ला र तराईका दुई जिल्ला जाने प्रमुख केन्द्रसमेत रहेको स्याउले चोकमा ग्यारेज धनीहरु सडकको दायाँ र वायाँ दुवैतर्फ पार्किङ गरेर मर्मत गर्दा समस्या भएको स्थानीय शेरबहादुर दियालले बताए। ग्यारेज अन्यत्र व्यवस्थापन गर्न स्थानीयले माग गर्नका साथै स्थानीय सरकारले पनि त्यसमा चाँसो दिनुपर्ने उनको भनाई छ।
अमरगढी नगरपालिका–१ कै ढुनढुनेमा ग्यारेज व्यवस्थापन गर्न खोजिएको भएपनि अहिलेसम्म नबन्दा झनै समस्या भएको छ। वडा नम्बर १ का वडाअध्यक्ष लोकेन्द्रबहादुर ऐरले भने स्याउले बजार व्यवस्थापन र ग्यारेज व्यवस्थापनको लागि एक हप्ताभित्रै सबै निकायसँग छलफल गरि निकास दिने बताए।
उता सडक डिभिजन कार्यालय कुलपातेले भने ग्यारेज व्यवस्थापनका लागि दुई पटक टेण्डरको सूचना निकाल्दा स्थानीय स्तरमा सहयोग नपाउँदा आफुलाई समस्या भएको जनाएको छ। दुई कार्यालयका बीचमा समन्वय नहुँदा एकातर्फ ग्यारेजहरु व्यवस्थित रुपमा स्थापना हुन सकेका छैनन् भने अर्कोतर्फ लाखौं रकम खर्च गरेर निर्माण सुुरु भएको कार्य अलपत्र परेको छ।