पाकिस्तानी प्रधानमन्त्री शरीफविरुद्ध उजुरी
एजेन्सी: पाकिस्तानमा चलिरहेको राजनीतिक उथलपुथलको बीच लाहोरको एक जिल्ला अदालतका न्यायाधीशले शनिबार प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र मुख्यमन्त्री विरुद्ध पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता गर्न सम्बन्धित अधिकारीहरूलाई आदेश दिएका छन्।
त्यस्तै पञ्जाबका हम्जा शेहबाज, गृहमन्त्री राणा सनाउल्लाह र अन्य वरिष्ठ प्रहरी अधिकारीहरू विरुद्ध पनि सो आदेश दिइएको छ। आजादी मार्चमा पाकिस्तान तहरीक९ए९इन्साफ (पीटीआई) का कार्यकर्ताहरूलाई चोटपटक र यातना दिएको आरोपमा मन्त्रीहरूमाथि मुद्दा लगाइएको एक्सप्रेस ट्रिब्युनले उल्लेख गरेको छ।
यसअघि एक अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीशले भाटीगेट प्रहरी चौकीका एसएचओलाई गृहमन्त्री राणा सनाउल्लाह, सीसीपीओ लाहोर र डीआईजी अपरेसनसहित आठ प्रहरी अधिकारी र वकिलमाथि आक्रमण गरेको र सवारी साधनमा क्षति पुर्याएको आरोपमा ४०० अज्ञात अधिकारीविरुद्ध फौजदारी मुद्दा दर्ता गर्न निर्देशन दिएको थियो।
अधिवक्ता अफजल अजीम बताएअनुसार वरिष्ठ प्रहरी अधिकारीहरूले पीटीआई समर्थकहरूलाई यातना दिए र उनीहरूलाई पार्टीको मार्चमा सामेल हुनबाट रोक्न लाठी र अश्रु ग्यास प्रयोग गरेको र यो एक ‘गम्भीर’ अपराध हो। मार्चमा सहभागी हुनु सबै नागरिकको लोकतान्त्रिक अधिकार हो।
लङमार्च हिंसाका लागि शहबाज सरकारलाई दोष दिँदै अधिवक्ता अजीमले आफ्नो निवेदनमा तर्क गरेका छन्, ‘प्रहरी उच्च अधिकारीले यो अपराध प्रधानमन्त्रीको इच्छामा गरेको हो।’ यसअघि इमरान र उनको पार्टीका अन्य नेताहरूलाई तोडफोडको आरोपमा इस्लामाबादका थुप्रै प्रहरी स्टेसनहरूमा १४ वटा मुद्दा दर्ता गरिएको थियो।
आजादी मार्चलाई शान्तिपूर्ण प्रदर्शनको आह्वान गर्दै अपदस्थ नेताले वर्तमान सरकारलाई अत्यधिक बल प्रयोग, अश्रुग्यासको रासायनिक शेलको प्रयोग, लाठी चार्ज, फायरिङ, सेलिंग, रबरको गोली र बन्दुकको प्रयोग गरेकामा भर्त्सना गरेका छन्।