सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकामा आयात प्रतिबन्ध खुकुलो पारियो

२०७९ जेठ १९, ०९:३७ खबर संवाददाता

कोलम्बो: श्रीलंकाले यस वर्षको मार्च र अप्रिल महिनामा विभिन्न ३ सय ६९ वस्तुमाथि लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको छ। रनिल विक्रमासिंघे नेतृत्वको सरकारले यसै साता यस्तो घोषणा गरेको हो।

यहाँको अर्थ मन्त्रालयका अनुसार यसबारे प्रधानमन्त्री रनिल विक्रमासिंघेद्वारा हस्ताक्षरित सूचना जारी गरिएको छ। यसअघि ३ सय ६९ वस्तुमध्ये कुनै पनि वस्तु आयात गर्न चाहनेले आयात अनुमतिपत्र लिनुपर्ने बाध्यतात्मक प्रावधान थियो।

विदेशी उत्पादनमा विदेशी मुद्रा खर्च घटाउन अघिल्लो सरकारले आयातमा रोक लगाउने नीति लिएको थियो। श्रीलंकाको केन्द्रीय बैंकले सोमबार सरकारको घोषणापछि आयातकर्तालाई आवश्यक वस्तु आयात गर्न बैंकिङ क्षेत्रमार्फत् पर्याप्त विदेशी मुद्राको पहुँच सुनिश्चित गर्ने बताएको छ।

श्रीलंकामा यस वर्ष विदेशी मुद्राको अभाव भएपछि यसको असर अतिआवश्यक वस्तुहरूको आयातमा पनि परेको छ। पछिल्लो केही महिनादेखि नै श्रीलंकाले आर्थिक संकट सामना गर्दै आएको छ।

जसकारण दैनिक उपभोग्य वस्तुको पनि अभाव उत्पन्न भएपछि ठूलो संख्यामा श्रीलंकाका जनताले देश छोडेका छन्। यसबीचमा राजधानी कोलम्बोसहित विभिन्न सहरमा विशाल र हिंसात्मक प्रदर्शनसमेत भएका थिए।

श्रीलंकाको आर्थिक संकटलाई लक्षित गर्दै विश्व बैंकले समेत हालै श्रीलंकालाई आर्थिक सहायता गर्ने घोषणा गरेको थियो।

कमेन्ट लोड गर्नुस