सेती अस्पतालमा उपचार गराउनै सास्ती, ढिलो आउँछन् चिकित्सक
धनगढी: बिहीबार बिहान १० बजे सेती प्रादेशिक अस्पताल परिसरमा बझाङका धर्मराज उपाध्याय भेटिए। अस्पतालको बहिरंग विभाग बाहिर उपाध्याय जस्तै कयौं बिरामी लाइन लागेका थिए। उपचार गराउन आएका बिरामी बच्चादेखि अशक्त अवस्थाका जेष्ठ नागरिक पनि थिए।
जेठको गर्मीमा लामो समयसम्म लाइनमा बस्नुपरेको, अस्पतालमा पंखा नजोडेको र बिरामी हेर्ने चिकित्सक पनि हरेक दिन १० बजेभन्दा निकै पछि आउने गरेको गुनासो उपाध्यायले गरे। ‘समयमै डाक्टर पुग्नु हुन्न। बस्ने ठाँउ पनि छैन,’ उनले भने, ‘यस्तो गर्मीमा जेष्ठ नागरिक र अशक्त व्यक्तिलाई चेक जाँचमा प्राथमिकता दिनुपर्ने हो तर दिँदैनन्।’
सुदूरपश्चिमको रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचार गर्न सास्ती भोग्नुपरेको अर्का बिरामी सुरेश चौधरीले गुनासो गरे। ‘अस्पतालमा बिरामीको घुइँचो छ। तर डाक्टर समयमा आउँदैनन् र उपचार सेवा पाउन सास्ती भएको छ,’ उनले गुनासो पोखे।
सेती प्रादेशिक अस्पतालमा ओपिडी र अल्ट्रासाउन्ड सेवा पाउन सबैभन्दा बढी कठिनाइ भएको बिरामी र आफन्तले बताएका छन्। अस्पतालमा कार्यरत चिकित्सकहरूले समयमै नआउँदा उपचार नपाएर फर्किनु पर्ने अवस्था रहेको बहिरंग सेवा लिन आएका मोहन विष्टले बताए। ‘अस्पतालमा जहिल्यै पनि डाक्टरहरु ढिलो आउने गर्छन,’ उनले भने, ‘बिरामी यति धेरै आएका छन्, तर डाक्टर भने साढे १० र ११ बजे मात्रै पुग्छन्।’
प्रादेशिक अस्पतालका डाक्टर बिरामी हेर्न हरेक दिन ढिलो आउने गरेको गुनासो अस्पतालमै भेटिएका लक्ष्मण कार्कीको पनि थियो। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ बाट दुई दिनदेखि उपचार गराउन आए पनि अल्ट्रासाउन्ड गर्ने पालो नपाएको उनको भनाइ छ। यस्तै कञ्चनपुरको पुनर्वास घर बताउने रिमा सार्कीले पनि ४ दिनदेखि भिडियो एक्सरे गर्न नसकेको बताइन्। ‘हामीले उपचार गर्न बच्चा छोडेर आउनुपर्छ, तर डाक्टर भने समयमै आइदिँदैनन्,’ उनले भनिन्, ‘मलाई चार दिन भयो तर अल्ट्रासाउन्ड गर्न पाएकी छैन।’
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ ओलानीका सुरेशसिंह कौशिल पेटमा समस्या भएकोले उपचार गराउन आए पनि अल्ट्रासाउन्ड गर्ने पालो नपाएर हैरान थिए। बिहीबार भने साढे आठ बजे नै अस्पताल आएर लाइन लागे पनि पालो पाउनेमा ढुक्क हुन नसकेको उनको भनाइ थियो। धनगढीको फूलबारी घर बताउने खगीमाया बिकको चिन्ता थियो आज पनि भिडियो एक्सरे गर्न पाइन्न कि भन्ने। ‘बच्चाको एक्सरे गर्न भनेर हिजो पनि आएकी थिए। हिजो ४० जनाको मात्रै गर्ने भनेर फर्कायो,’ आज पनि हुन्छ कि हुँदैन भन्ने चिन्ता लागेको छ’ उनले भने।
बुधबार आमाको उपचार गराउन अस्पताल पुगेकी रितिका गुरुङले समयमै चिकित्सक नआएकाले उपचार नगराएरै फिर्ता भएको बताइन्। ‘बाहिर कोचाकोच भएर उभिनुपर्छ। जसले अगाडि पर्चा दियो उसले उपचार पाउन सक्छ। तैपनि डाक्टर ११ बजेसम्म आउदैनन्’ उनले भनिन्।
अस्पतालको बहिरंग विभागमा ८६ वर्षीया आमाको उपचार गराउन लाइनमा लागेका कृष्णपुरका राजेश थापाले पनि बहिरंग विभागमा डाक्टरहरू निकै ढिलो आउने गरेको गुनासो पोखे। ‘यो अस्पतालमा जहिल्यै पनि डाक्टर निकै ढिलो आउने गरेका छन्,’ उनले भने, ‘८६ वर्षीया आमाको लागि डेढ घण्टादेखि लाइनमा छु।’
सेती प्रादेशिक अस्पतालमा बहिरंग विभागमा मात्रै दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेको अस्पतालको भनाइ छ। अस्पतालमा बिरामीको अत्यधिक चाप भए पनि सबैको उपचार सहज बनाउन प्रयासरत रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। ‘जनशक्ति कम भएकोले एक दिनमा ६० देखि ७० जनाको मात्रै अल्ट्रासाउन्ड गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अस्पतालले जनशक्ति थप्ने तथा सबै खाले समस्या हल गर्न पहल गरिरहेको छ।’
सेती प्रादेशिक अस्पतालमा बिरामी बस्ने ठाउँसमेत नरहेकोले गर्मीमा कोच्चिएर बस्नुपरेको बिरामीको दुखेसो छ। बहिरंग सेवा व्यवस्थित बनाउन टोकन प्रणाली र अल्ट्रासाउन्ड गराउन दिनहुँ धाउन नपर्ने वातावरण बनाउन बिरामीले आग्रह गरेका छन्।