सुदूर नेपाललाई विश्वसँग जोड्दै

लकडाउन हटेपछि सडकमा नाचगान गरेर उत्सव 

२०७९ जेठ १९, ०६:१५ खबर संवाददाता

चीनको ठूलो आर्थिक सहर शङ्घाईमा कोरोना भाइरसको जोखिमका कारण लगाइएको लकडाउन दुई महिनापछि आज बुधवारदेखि खुकुलो पारिएको छ।

साढे दुई करोडभन्दा धेरै मानिस बस्ने सहरमा प्रतिबन्धहरू खुकुलो बनाउँदै मानिसहरूलाई घरबाहिर निस्केर हिँडडुल गर्न दिइएको हो। शङ्घाई महानगरकी प्रवक्ता यिन शिनले लामो समयदेखि कामना गरिरहेको दिन आज प्राप्त भएको बताउनुभएको बीबीसीले जनाएको छ। 

केरोना सङ्क्रमण भएका व्यक्ति र सङ्क्रमितहरूको सम्पर्कमा रहेका सबै मानिस अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भन्दै उनले सङ्क्रमण देखिएको क्षेत्रमा भने फेरि लकडाउन हुन सक्ने बताए।

नगरवासीहरूले घरबाट बाहिर निस्किँदा उनीहरू सङ्क्रमित नरहेको पहिचान स्वरूप मोबाइलमा हरियो कोड देखाउनुपर्छ। सरकारले सङ्क्रमित नभएका व्यक्तिको मोबाइलमा हरियो कोड उपलब्ध गराएको हुन्छ। 

यदि कुनै व्यक्ति सङ्क्रमितको सम्पर्कमा पुगेमा उसको मोबाइलमा रहेको हरियो कोड स्वतः हट्छ।

शङ्घाईबाट बाहिर जान भने अझै पनि प्रतिबन्ध रहेको छ। अर्को सहरबाट शङ्घाई पुग्नेले अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्छ। विद्यालय, चलचित्र घर, सङ्ग्राहलय र व्यायाम घर भने अझै बन्द छन्। 

लकडाउन सकिएपछि शङ्घाईका बासिन्दाहरूले उत्सव मनाएका छन्। मानिसहरू सडक छेउमा भेला भएर नाचगानसमेत गरेका बीबीसीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस