सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सुरक्षित गर्भपतन गराउने बढे, यस्तो छ कारण 

२०७९ जेठ १६, ०५:११ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा सूचिकृत स्वास्थ्य संस्थाहरुको संख्या बढ्दै गएसँगै सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा समेत वृद्धि भएको छ। चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै डडेल्धुरामा ८५४ जना महिलाहरुले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

सात वटा स्थानीय तह रहेको डडेल्धुरामा सात वटै स्थानीय तहमा गरी २० वटा सूचिकृत स्वास्थ्य संस्थाहरुले सुरक्षित गर्भपतन गराउँछन्। औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिन्छ। ८१५ जनाले औषधि र ३९ जनाले शल्यक्रियामार्फत् सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालय परिवार नियोजन संयोजक भवानी कुँवरले बताए। डडेल्धुरा अस्पतालमा मात्रै यस वर्ष १५७ जनाले सुरक्षित गर्भपतन गराएका छन्। यी मध्ये १३१ जनाले औषधिको प्रयोग र २६ जनाले अप्रेसन गरेर सुरक्षित गर्भपतन गराएको उनले बताए। सोमबार जिल्ला सदरमुकाममा सामुदायिक विकास मञ्चले आयोजना गरेको स्थानीय सञ्चारकर्मीहरुसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी छलफल कार्यक्रममा आयोजना गरिएको थियो। 

सूचिकृत स्वास्थ्य संस्थाहरुमा सुरक्षित गर्भपतन भए पनि अनेच्छिक गर्भ तथा गोपनीयता नरहने र लिङ्ग पहिचान गरी गर्भपतन गराउनेहरु अवैधानिक रुपमा निजी स्वास्थ्य संस्थाहरुमा असुरक्षित गर्भपतन गराउने गरेको बताइएको छ।  

कमेन्ट लोड गर्नुस