प्रेस चौतारी कञ्चनपुरले भन्योः पत्रकार महासंघ होटलको पक्षमा देखिनुको रहस्य के हो ?
धनगढीः कञ्चनपुरमा प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको निन्दा गरेको छ। जिल्लामा सन्चालित एक मिडिया हाउसलाई अधिकारक्षेत्र भन्दा बाहिर गएर कारबाहीको सिफारिस गरेको भन्दै चौतारीले ध्यानाकर्षण भएको जनाएको हो। महासंघले समाचारको खण्डन नछापेको भन्दै कञ्चनपुरको पश्चिम प्रेस मिडिया हाउसलाई कारबाही गर्न प्रेस काउन्सिलमा पत्र पठाएको थियो। उक्त मिडियाले गत चैत्र २७ मा ‘होटेल ९÷११ मा युवक हत्या प्रकरण दोषी बचाउन चलखेल’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सोही समाचारको विषयलाई लिएर महासंघ विवादमा तानिएको हो।
समाचार आएको गरेको दोस्रोदिनै पत्रकार महासंघ कञ्चनपुरले उक्त पत्रिकाले समाचारको खण्डन छाप्न आनाकानी गरेको भन्दै कारबाहीका पत्र पठाएको जनाएको छ। तर, पश्चिम प्रेसका समाचार प्रमुख महादेव अवस्थीले भने उक्त समाचारको खण्डनको लागि कुरै नगरेको बताएका छन्। ‘समाचार खण्डनको लागि जानकारी नै दिइएन’, उनले भने। यही विषयलाई लिएर प्रेस चौतारीले महासंघप्रति नै प्रश्न गरेको छ। पत्रकार महासंघ होटलको पक्षमा देखिनुको रहस्य स्पष्ट पार्न चौतारीले माग गरेको छ।