सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका ३ पालिकामा कांग्रेस विजयी 

२०७९ जेठ २, ११:३६ खबर संवाददाता

अछाम: अछामका ३ स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ। कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र बान्नीगढीमा कांग्रेस विजयी भएको हाे। 

कमलबजारमा कांग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २८८ मतका साथ नगरप्रमुख बनेका छन् भने ढकारी गाउँपालिकामा कांग्रेसकै प्रकाशबहादुर साउँदले ३ हजार १८१ मतसहित अध्यक्षमा जितेका छन्। जहाँ कांग्रेसकै नेत्रकला शाही ३ हजार एकसय मत ल्याएर उपाध्यक्षमा विजय भएकी छन् भने कमलबजार नगरपालिकामा नगरप्रमुख कांग्रेसले जितेपनि उपप्रमुखमा चाही एमालेकी शारद बिष्ट (कुँवर)ले ४ हजार ५२८ मतमा जित हासिल गरेकी छन्।

 कमलबजारमा नेकपा एमालेबाट पराजित नगरप्रमुख पदका उम्मेदवार कटकबहादुर साउँदले ४ हजार ६५ र कांग्रेसबाट उपप्रमुखमा उम्मेदवार बनेकी गौरी बिष्ट भण्डारीले जम्मा ३ हजार ६४८ मतका साथ पराजित भएकी हुन्। ढकारीमा एमालेका धर्म शाही २ हजार ५५५ मत र नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष पदका उम्मेदवार शेरबहादुर बुढाले १ हजार ५९० मत ल्याएका थिए। 

त्यहाँ उपाध्यक्षमा पराजित हुनेहरु एमालेका मायदेवी बुढाले २ हजार ५७३ र एकीकृत समाजवादीकी देवकला खत्री चलाउनेले १ हजार ५७८ मत पाएका छन्।

यस्तै बान्नीगढी जयगढ गाउपालिकामा पनि कांग्रेसका टेकबहादुर साउद अध्यक्ष र एमालेका बिन्दु रावल उपाध्यक्षमा विजयी भएका छन्।एमालेबाट उम्मेदवार लोकबहादुरलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन् । कांग्रेसबाट उम्मेदवार टेक बहादुरले ३ हजार १ सय १२ मत पाएका छन् भने एमालेबाट उम्मेदवार लोकबहादुरले २ हजार ६ सय १४ मत पाए।
 

कमेन्ट लोड गर्नुस