बाजुराका ४ मतदान केन्द्रमा तनाव, प्रहरीले गर्यो हवाइ फायर
बूढीगंगामा खुकुरी प्रहार
धनगढीः बाजुराका तीन मतदानस्थलमा तनाव सृजना भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका–९, बुढीगंगा–५, सोही नगरपालिकाको वडानम्बर १० सिगाडामा र बुढीनन्दा नगरपालिकाको वडानम्बर ९ स्थित अगाउपानीमा दलका कार्यकर्ताबीच झडप भएपछि तनाव उत्पन्न भएको हो।
प्रहरीका अनुसार बुढीगंगा नगरपालिका ९ मा माहोल शान्त पार्न २ राउण्ड हवाइ फायर गरिएको छ। यस्तै सिगाडामामा रहेको मतदान केन्द्रमा पनि १ राउण्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्र बोगटीले जानकारी दिए। यस्तै बुढीनन्दाको अगाउपानीस्थित हिमाली आधारभूत विद्यालयमा पनी हवाइ फायर गरिएको छ। तीनवटै मतदान केन्द्रमा एमाले र गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि तनाव भएको थियो।
बूढीगंगामा कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार
बूढीगंगामा कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार समेत भएको प्रहरीले बताएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेका कार्यकर्ताले सत्तारुढ नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका हुन्। बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालय भवन मतदान केन्द्रमा एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार खडक थापा, एजेन्ट गंगा जोशी र धनगिरी खत्री घाइते भएका छन्। घाइतेहरुको अहिले टाँटे स्वास्थ्य चौकीमा उपचार भइरहेको कांग्रेस नेता राजेन्द्र शाहले जानकारी दिए। उनले फर्जी मत खसालिरहेका व्यक्तिहरु रोक्न खोज्दा एमालेका नेता–कार्यकर्ताहरु आक्रमणमा उत्रिएका पनि बताए।
शाहका अनुसार एमाले बाजुराका सचिव भरत थापाले उक्त समूहको नेतृत्व गरेका थिए। मतदान स्थलमा आक्रमण भएपछि अहिले मतदान स्थगित भएको छ।