सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनको मरिपोलमा रहेको स्टिल उद्योगमा थुनिएकामध्ये ४६ जनाको उद्धार

२०७९ वैशाख १८, ०९:१९ खबर संवाददाता

युक्रेनको मरिपोलमा रहेको स्टिल उद्योगमा थुनिएकामध्ये ४६ जनालाई बाहिर निकालिएको छ। रुसको रक्षा मन्त्रालयले उनीहरूलाई स्टिल उद्योगको भवनबाट बाहिर निकालिएको जानकारी दिएको एएफपीले जनाएको छ।

मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर उनीहरूलाई भवनबाट सकुशल बाहिर निकालेको रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। 

‘यही अप्रिल ३० मा मानवीयतालाई ध्यान दिँदै र अन्तर्राष्ट्रिय समुदायको कुरालाई समेत मानेर हामीले उनीहरूलाई सकुशल भवनबाट बाहिर निकालेका छौँ’, मन्त्रालयले भनेको छ।  

एक पटक २५ जना र एक पटक २१ जनाको उद्धार गरेर उनीहरूलाई मरिपोलबाट रुसतर्फ जाने बाटोमा पर्ने रुसको सिमानामा रहेको बेजिमेन्नीमा लगिएको छ।

अघिल्लो हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्टिल उद्योग क्षेत्रलाई घेराबन्दी गर्न आदेश दिएपछि उनीहरू थुनिएका थिए। 

थुनामा रहेका अरू झन्डै एक हजार गैरसैनिकलाई बाहिर निस्कन दिने बारेमा अहिले पनि वार्ता भइरहेको छ। 

कमेन्ट लोड गर्नुस